अविरल वर्षा र पहिरोले देशका विभिन्न भागमा मुख्य राजमार्ग अवरुद्ध, कतिपय सडक पूर्ण ठप्प

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। अहिले साउन ४ गते बिहान ६:१० बजेसम्म प्राप्त विवरणअनुसार कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्डहरू बाढी तथा पहिरोका कारण अवरुद्ध भएका हुन्।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका ५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्गमा यातायात एकतर्फी सञ्चालनमा छ। इलामको राजदुवालीस्थित मेची राजमार्ग, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी ६ माम्खास्थित मध्य पहाडी लोकमार्ग र उदयपुरको कटारी ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्।

बागमती प्रदेशमा पनि बाढी र पहिरोले धेरै सडक प्रभावित भएका छन्। काभ्रेको रोशी गाउँपालिका ९ पिन्थलीमा पहिरो जाँदा बि.पि. राजमार्ग पूर्ण अवरुद्ध छ भने सम्भावित बाढीका कारण खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको हेटौँडा-थिङ्गन-बागमती-ललितपुर जोड्ने कान्तिलोकपथमा पनि सम्भावित बाढी र पहिरोका कारण अर्को सूचना नभएसम्मका लागि सवारी सञ्चालन रोकिएको छ।

यसैगरी सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ जिरोकिलो र वडा नम्बर २ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प भएको छ। चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा पहिरो जाँदा पृथ्वीराजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।

धादिङको बेनीघाट रोराङ १० तिमराङखानीमा पहिरो हटाएर पृथ्वी लोक मार्ग एकतर्फी खुलाइए पनि जोवाङ खोलामा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। रसुवाको गोसाइँकुण्ड ६ बोकेझुन्डामा पहिरो गए पनि पासाङ ल्हामु सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहेको छ।

743288802_1459365336015518_8743276289074991387_n

Leave a Reply

Your email address will not be published. Required fields are marked *