बाढीपहिरो र विपत्का कारण खोलामा पर्ने पुल बगाएर सडक सञ्जाल अवरुद्ध भए तुरुन्तै जोड्न बेलिब्रिज तयार पारिएको छ । सडक विभाग, पुल महाशाखा अन्तर्गतका विभिन्न सडक डिभिजन कार्यालयमा दस वटा बेलिब्रिज तयारी अवस्थामा राखिएका हुन् । यी बेलिब्रिज आवश्यकता अनुसार जुनसुकै स्थानमा पनि जडान गर्न सकिने छ ।
सडक विभाग पुल महाशाखा प्रमुख
ई. ललिजन खनालले कानुन अनुसार खरिद पूरा गरेर बेलिब्रिज जडान गर्न लामो समय लाग्न सक्ने भएकाले पहिल्यै बेलिब्रिज तयार पारिएको हो । वर्षायाम लागेसँगै सुरु हुने बाढीपहिरोको प्रकोपले हरेक वर्ष सडक र पुलमा क्षति पुग्दा वा बगाउँदा कैयौँ दिनसम्म राजमार्गमा आवतजावत ठप्प हुने गर्छन् । उनका अनुसार सडक खुलाउन अहिले २७७ उपकरण तयारी अवस्थामा राखिएको छ ।
पुल महाशाखाका अनुसार सडक डिभिजन कार्यालय हेटौँडा (मकवानपुर), दमौली (तनहुँ), शिवपुर (कपिलवस्तु) र नेपालगन्ज (बाँके) मा दुई/दुई वटा तथा सडक डिभिजन लहान (सिराहा) र जनकपुरमा एक/एक वटा बेलिब्रिज रहेका छन् । नेपालगन्ज र जनकपुरमा रहेका पुल ५० मिटर र अन्य पुल ५० मिटरभन्दा साना छन् ।
सेनासँग छ वटा
नेपाली सेनाले पनि विभिन्न स्थानमा छ वटा बेलिब्रिज तयारी अवस्थामा राखेका छन् । नेपाली सेनाका सहायकरथी एवं प्रवक्ता राजाराम बस्नेतले धादिङको गजुरी, चितवनको भरतपुर, बाराको सिमरामा एक/एक वटा बेलिब्रिज तयारी अवस्थामा राखिएकाे बताए ।
त्यसै गरी गाडीबाटै लन्च हुन सक्नेखालका तीन वटा बेलिब्रिज काठमाडौँमा तयारी अवस्थामा राखिएका छन् । बेलिब्रिज आपत्कालीन रूपमा छोटो समयमै निर्माण गर्न सकिने पूर्वनिर्मित स्टिलको पुल हो । यसलाई सजिलैसँग गाडीमा बोकेर लैजान र नटबोल्टको सहायताले छिटो जोड्न सकिन्छ ।
