काठमाडौँको नागढुङ्गा र धादिङको सिस्नेखोला जोड्ने नेपालकै पहिलो सडक सुरुङमार्गमा शनिबार ‘नागढुङ्गा टनेल फन रन एन्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ । आगामी साउन ११ गतेदेखि सुरुङमार्गको परीक्षण सञ्चालनको तयारी भइरहेका बेला सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा सुरुङभित्र दौड तथा पदयात्रा कार्यक्रम गरिएको हो ।
सडक विभागका अनुसार सुरुङमार्गको औपचारिक उद्घाटन साउन ११ गते हुनेछ भने सुरुमा यसलाई परीक्षणका रूपमा सञ्चालन गरिनेछ । पूर्ण व्यावसायिक सञ्चालनमा आउन भने अझै दुईदेखि तीन महिना लाग्ने जनाइएको छ । परीक्षण अवधिमा सवारीसाधनबाट कुनै शुल्क नलिइने भए पनि नियमित सञ्चालनपछि सरकारले तोकेको दस्तुर लागू गरिनेछ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौँ–नागढुङ्गा सडकखण्डको सवारी जाम घट्ने, बलम्बुदेखि सिस्नेखोलासम्मको दूरी करिब ७.५ किलोमिटरबाट ५ किलोमिटरमा झर्ने तथा यात्रा समय पनि उल्लेखनीय रूपमा कम हुने अपेक्षा गरिएको छ । सुरुङभित्र आवश्यक सुरक्षा, सञ्चार, विद्युत्, भेन्टिलेसन र टोल व्यवस्थापन प्रणालीको परीक्षण सम्पन्न भइसकेको सडक विभागले जनाएको छ ।









साभारः गाेरखापत्र दैनिक ।
