देशभर सक्रिय मनसुनका कारण बाढीपहिरो, चट्याङ र सर्पदंशका घटना बढ्दै जाँदा जनजीवन थप प्रभावित बनेको छ । अविरल वर्षाका कारण बाढी र पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बनेका छन् । विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन आवागमनमा कठिनाइ उत्पन्न भएको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार मेची राजमार्ग र अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरो गएका कारण आवतजावत प्रभावित भएको छ । त्यसै गरी बिपी राजमार्ग र कान्ति लोकपथ बाढीपहिरोको सम्भावना बढी रहेकाले आवतजावतमा रोक लगाइएको छ । त्यसै गरी मध्यपहाडी तथा घ्याम्पेसाल–ताकुकोट सडक पहिरोका कारण अवरुद्ध भएको छ ।
बिहीबार बिहान १० देखि शुक्रबार बिहान १० बजेसम्मको अवधिमा ३५ जिल्लामा विपत्का ४५ घटना अभिलेख भएका छन् । तीमध्ये १५ वटा पहिरो, नौ वटा सर्पदंश, पाँच वटा अविरल वर्षा तथा चार/चार वटा बाढी, आगलागी, चट्याङ र वन्यजन्तु आक्रमणका घटना रहेका छन् । पहिरो, चट्याङ र सर्पदंशबाट एक/एक जनाको मृत्यु भएको छ भने विभिन्न घटनामा २५ जना घाइते भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा जोखिम व्यवस्थापनका लागि नेपाल प्रहरीका २०३ जना सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ ।
यसैबिच गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसी) का अनुसार अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा सडक भासिने घटनाले देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गमा यातायात सेवा प्रभावित भएको छ । शुक्रबार बिहानसम्म कम्तीमा छ स्थानमा राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन् भने प्राधिकरणले देशभर नौ स्थानमा सडक अवरुद्ध रहेको जनाएको छ ।
कतिपय स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको छ । पहाडी जिल्लामा सडकमाथिबाट पहिरो खस्ने, खोलामा आएको बाढीले सडक बगाउने तथा सडक भासिने घटनाले आवागमनमा थप समस्या उत्पन्न गरेको छ । अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायका प्राविधिक टोली परिचालन गरिएको छ । गृह मन्त्रालयले यात्रु तथा सवारीचालकलाई यात्रा गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । अत्यावश्यकबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी सूचना पालना गर्न पनि अनुरोध गरिएको छ ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा सञ्चालनमा रहेका ३७१ वर्षामापन केन्द्रमध्ये २७० केन्द्रमा वर्षामापन भएको छ । सबैभन्दा बढी १४०.४ मिलिमिटर वर्षा नवलपरासी (पूर्व) को देउराली–नवलपुर केन्द्रमा रेकर्ड गरिएको छ । निरन्तर वर्षासँगै नदीनाला तथा खोलामा बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।
चालु आर्थिक वर्षको वैशाख १ देखि साउन १ गतेसम्म देशभर तीन हजार ३४७ विपत्का घटना अभिलेख भएका छन् । ती घटनामा १६३ जनाको मृत्यु, एक जना बेपत्ता तथा ९७२ जना घाइते भएका छन् । यस अवधिमा आगलागीका ९०२, सर्पदंशका ५२५, हावाहुरीका ४७७, पहिरोका ४४९ तथा चट्याङका २२७ घटना दर्ता भएका छन् ।
मनसुन अझै सक्रिय रहेकाले आगामी केही दिन बाढी, पहिरो र डुबानको जोखिम कायम रहने प्राधिकरणले जनाएको छ । पहिरोको जोखिम भएका पहाडी बस्ती, नदी तटीय क्षेत्र तथा डुबान सम्भावित स्थानका नागरिकलाई उच्च सतर्कता अपनाउन र मौसम तथा सम्बन्धित निकायबाट जारी हुने सूचना नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ ।
तीन दिन झरी पर्ने
आगामी तीन दिन फेरि निरन्तर वर्षा हुने भएको छ । विगत केही दिन थोरै कमजोर रहेको मनसुन सक्रिय हुँदै देशका विभिन्न भूभागमा झरीसहित सक्रिय हुने भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो समय देशभर मनसुनी वायुको प्रभाव फेरि बढेको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र तराई भूभागआसपास र पूर्वमा सरदर स्थानआसपास रहेको छ । जस अनुसार अब मध्यदेखि पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने अनुमान गरिएको छ ।
शुक्रबार र शनिबार दिउँसोको तुलानामा शनिबार रातिदेखि झरीयुक्त मनसुनी वर्षा दोहोरिने सम्भावना बढी रहेको छ । तथापि शनिबार दिउँसोसम्म पनि केही भेगमा अधिक वर्षाको सम्भावना भने बलियो रहेको मौसमविद् बिनु महर्जनले बताइन । उनका अनुसार शनिबार रातिदेखि भने देशको पूर्वी तराईदेखि मध्यपहाड, पश्चिम नेपाल र हिमाली भेगका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
केही स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेकाले सतर्क रहेर पूर्वसूचना पालना गर्न भनिएको छ । उच्च हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेकाले देशभर चिसो बढाउन सक्ने अनुमान गरिएको छ । आइतबार दिनभरजसो वर्षाको सम्भावना रहेको छ ।
