अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ ।
१० वर्षअघि मुलुकभर १४६ वटा तुइन रहेकामा अहिले १४ वटा मात्र बाँकी छन् । १३२ स्थानका तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा सिंहदरबारमा २०७२ असोज २५ गते पदभार ग्रहण गर्ने क्रममा मुलुकमा रहेका तुइनलाई दुई वर्षभित्रमा झोलुङ्गे पुल विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए ।
यद्यपि विविध प्राविधिक कारणले तुइन विस्थापित हुन केही ढिलाइ भएको स्थानीय पूर्वाधार विकास विभाग (डोली) अन्तर्गतको झोलुङ्गे पुल शाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) स्मिता शर्माले बताइन् ।
उनले भनिन , “१३२ वटा तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको छ । अहिले दार्चुलाको व्यास र लेकम गाउँपालिकास्थित महाकाली नदीमा १२ वटा तुइन छन् । त्यसै गरी कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन र महाकाली नदीमाथि पञ्चेश्वर घाटमा रहेको तुइन अहिलेसम्म विस्थापित हुन नसकेको हो ।” अहिले सरकारले कहीँ पनि तुइन निर्माणको काम नगरेको स्पष्ट पार्दै उनिले स्थानीय तह र टोलछिमेक मिलेर पनि तुइन निर्माण गरी जोखिमयुक्त यात्रा गरेको बताउछिन ।
सस्पेन्सन ब्रिज डिभिजनका प्रवक्ता प्रेमनारायण बस्यालले नेपाल–भारतबिच सहमति हुन नसक्दा पञ्चेश्वर घाटको तुइन हटाएर मोटरेबल पुल वा झोलुङ्गे पुल निर्माण कार्य अगाडि बढ्न नसकेको जनाउदै तुइन विस्थापित गर्न आवश्यक प्रक्रिया अगाडि बढाइए पनि दुई मुलुकबिच सहमति नहुँदा कार्यक्रम नै रद्द गर्नुपर्ने उनको भनाइ छ । सहमतिका लागि परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अगाडि बढाइए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।
त्यसै गरी अहिलेसम्म वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन नसक्दा कर्णाली नदीमाथि बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको तुइन विस्थापित कार्य अगाडि बढ्न नसकेको तरअहिले सो ठाउँको वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको जानकारी दिए । त्यहाँको तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्न ठेक्का सम्झौता भए पनि वातावरणीय प्रभाव मूल्याङ्कन नहुँदा काम अगाडि बढ्न नसकेको हो । अहिले देशभरिबाट पाँच हजार पाँच सयभन्दा बढी ठाउँमा झोलुङ्गे पुल बनाउन विभागमा प्रस्ताव आएको उनले जानकारी दिए ।
चौध सय झोलुङ्गे पुल
विसं २०२० देखि आर्थिक वर्ष २०८१/८२ को अन्तिमसम्म मुलुकभरि ११ हजार चार सय झोलुङ्गे पुल निर्माण भएको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्रवक्ता बस्यालले जानकारी दिए । सन् १९०३ मा श्री ३ चन्द्र शमशेरको पालादेखि नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएको थियो । झोलुङ्गे पुल निर्माण भई स्थानीय ग्रामीण भेगका करिब एक करोड ६० लाख जनसङ्ख्या लाभान्वित भइसकेको सस्पेन्सन ब्रिज डिभिजनको दाबी छ ।
सरकारले आव २०८२/८३ को नीति तथा कार्यक्रममा तुइन विस्थापनलाई प्राथमिकता दिने उल्लेख गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक सुविधा नपुगेका दुर्गम क्षेत्रमा यातायातलाई सहज तुल्याउन तुइन विस्थापन गर्ने गरी झोलुङ्गे पुल निर्माणलाई निरन्तरता दिइने बताएका छन् ।
