नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध कुटपिट घटनासम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित शाहविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बिहीबार कपिलवस्तु जिल्ला अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी जारी गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश)माथि भएको आक्रमण घटनामा शाहको संलग्नता रहेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गर्दै अनुसन्धान सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार शाहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। हाल उनी सम्पर्कमा नरहेकाले फरारको सूचीमा राखेर खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
पीडित शर्माले घटनापछि जाहेरी दर्तामा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका थिए। उनले केही दिनअघि प्रहरीमा उजुरी बुझाए पनि अनुसन्धान प्रक्रिया अपेक्षाअनुसार अघि नबढेको गुनासो गरेका थिए।
उजुरीमा सांसद शाह, कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहसहित १५ देखि २० जनाको समूहले आफ्नै निवासमा प्रवेश गरी कुटपिट गरेको आरोप लगाइएको छ। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ।
यता, सांसद शाहले भने आफूविरुद्ध पक्राउ पुर्जी जारी हुनु राजनीतिक प्रतिशोध र चुनावी हारको पीडाबाट प्रेरित षड्यन्त्र भएको प्रतिक्रिया दिएका छन्। आफूलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको उनको दाबी छ।
