असारको अन्तिम सातासम्म पर्याप्त वर्षा नहुँदा किसानले अपेक्षाअनुसार धान रोप्न पाएका थिएनन्। तर शनिबारदेखि परेको अविरल वर्षासँगै बागलुङका मुख्य सडकमा पहिरो खस्न थालेपछि यातायात प्रभावित हुन थालेको छ। कालीगण्डकी करिडोरको बागलुङ खण्ड तथा बुर्तिवाङ–ढोरपाटन सडकमा विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध हुने क्रम सुरु भएको छ।
जैमिनी नगरपालिका–७ जैदी र वडा नं. ८ छिस्तीको सिमानास्थित बेलबगरमा लेदोसहितको पहिरो खस्दा करिब आठ घण्टा सडक अवरुद्ध भएको थियो। प्रहरी, स्थानीयवासी र स्काभेटरको सहयोगमा पहिरो हटाएपछि सडक पुनः सञ्चालनमा आएको थियो।
कालीगण्डकी करिडोर कालोपत्र भएपछि बागलुङ, म्याग्दी र मुस्ताङ भ्रमणमा जाने पर्यटकले यस सडकको व्यापक प्रयोग गर्दै आएका छन्। गुल्मी, पाल्पा र बुटवल हुँदै यात्रा गर्ने भारतीय भक्तजन र पर्यटकका लागि पनि यो सडक प्रमुख मार्ग बनेको छ।
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले कमजोर भू–बनोटका कारण वर्षायाममा बेलबगर क्षेत्रमा बारम्बार पहिरो खस्ने र यात्रुलाई जोखिम तथा सास्ती हुने गरेको बताए ।
यस्तै, कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीसेरा सडकको दब्ल्याङ क्षेत्रमा विगत छ वर्षदेखि निरन्तर पहिरो खस्दै आएको छ। सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने गरेकाले जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका बासिन्दाले हरेक वर्ष सास्ती खेप्दै आएका छन्।
२०७६ सालदेखि सक्रिय रहेको उक्त पहिरोका कारण वर्षायाममा सडक पटक–पटक अवरुद्ध हुने र कतिपय अवस्थामा महिनौँसम्म यातायात ठप्प हुने गरेको छ। पहिरो नियन्त्रणका लागि बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले विभिन्न चरणमा लगानी गरे पनि दिगो समाधान हुन सकेको छैन। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको तीन करोड रुपियाँको बजेटबाट समस्या समाधान गर्ने योजना पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन।
प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार पहिरो नियन्त्रणका लागि पहिलो चरणमा पानीको उचित व्यवस्थापन गर्नुपर्ने र त्यसपछि मात्र सडक संरचना निर्माण गर्नुपर्ने उल्लेख छ। दोस्रो चरणमा कम्तीमा १६ मिटर गहिराइसम्म खम्बा गाडेर चट्टानसम्म पुर्याएपछि मात्र दीर्घकालीन रूपमा पहिरो नियन्त्रण गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ। यसका लागि करोडौँ रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बेलबगर र दब्ल्याङमा पटक–पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्नुका साथै समयमै गन्तव्यमा पुग्न नसक्ने अवस्था रहेको बताए । पर्याप्त उपकरण र जनशक्ति अभाव तथा निरन्तर वर्षाका कारण सडक खुलाउन अपेक्षाभन्दा बढी समय लाग्ने उनको भनाइ छ।
यता, वर्षायाममा सालझण्डी–ढोरपाटन सडकको फल्लेघरभन्दा माथिल्लो क्षेत्रमा पनि लेदोसहितको पहिरो खस्ने क्रम दोहोरिँदै आएको छ। निर्माणाधीन सालझण्डी–ढोरपाटन सडक समयमै सम्पन्न नहुँदा यात्रुले हरेक वर्ष सास्ती खेप्नुपरेको ढोरपाटन नगरपालिकाका कार्यवाहक नगरप्रमुख धनबहादुर कायतले बताए ।
उहाँका अनुसार नगरपालिकाले आफ्नै डोजर प्रयोग गरेर सडक सञ्चालनमा ल्याउने प्रयास गर्दै आएको छ। १६ वर्षदेखि निर्माणाधीन रहेको सालझण्डी–ढोरपाटन सडकको काम सम्पन्न हुन नसक्दा पर्यटकीय मौसममा ढोरपाटन आउने पर्यटकसमेत पहिरो र जीर्ण सडकका कारण समस्यामा पर्ने गरेका छन्।
पहिरोले पृथ्वीराजमार्गको डुम्रे–आँबुखैरेनी खण्ड अवरुद्ध
लगातारको वर्षापछि खसेको पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी सडकखण्ड मङ्गलबार बिहानदेखि अवरुद्ध भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा बिहान करिब ८ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । वर्षा निरन्तर भइरहेकाले थप पहिरो खस्ने जोखिम कायम रहेको सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक खुलाउने प्रयास हुनुअघि नै वर्षाका कारण जोखिम बढेकाले सवारी आवागमन रोकिएको छ । लगातारको वर्षासँगै तनहुँका नदी किनार तथा सडकखण्ड जोखिमयुक्त बनेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विभागबाट प्राप्त जानकारीका आधारमा मर्स्याङ्दी, सेती, मादी, त्रिशूली, कालीगण्डकी तथा अन्य साना–ठुला खोला किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन अनुरोध गरिएको छ । राजमार्ग तथा भित्री सडक प्रयोग गर्ने यात्रुलाई सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न तथा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सुरक्षा निकाय, सडकसम्बन्धी कार्यालय तथा स्थानीय तहहरू उच्च सतर्क अवस्थामा रहेको बताउँदै नागरिकलाई अनावश्यक आवतजावत नगरी सुरक्षित स्थानमा बस्न आग्रह गरे । कुनै समस्या परे जिल्ला आपत्कालीन सञ्चालन केन्द्र, नेपाल प्रहरी वा सम्बन्धित निकायमा तत्काल सम्पर्क गर्न उन अनुराेध गरे । सोमबार राति आँबुखैरेनी–२ मा लेदो पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि आँबुखैरेनी–मुग्लिन खण्डमा अझै ढुङ्गा खस्ने र पहिरो जाने जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।
