कान्ति लोकपथ अनिश्चितकालका लागि बन्द

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मकवानपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दुई मार्गमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर सवारी आवागमनमा रोक लगाइएको छ ।हेटौँडा–ललितपुर जोड्ने कान्ति लोकपथमा सवारी आवागमन अनिश्चितकालका बन्द गरिएको छ । यस्तै भीमफेदी–देउराली–कुलेखानी–सिस्नेरी–सडक सोमबार साँझबाट मङ्गलबार बिहानसम्मका सवारी आवागमनमा रोक लगाइएको हाे   ।

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेकाले विभिन्न सडकखण्डहरू अवरुद्ध भएका कारण सडक यातायात प्रभावित भई उच्च जोखिमको अवस्था सिर्जना भएको भन्दै जिल्ला प्रशासन कार्यालय, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुई मार्गमा आवागमनमा रोक लगाएको जानकारी दिए  ।

सहायक प्रजिअ जोशीले सोमबार एक सूचना जारी गर्दै हेटौँडा–ठिङ्गन–बागमती–ललितपुर (कान्ति लोकपथ) सोमबार साँझ ५ः०० बजेबाट अर्को सूचना जारी नभएसम्ममा लागि सवारी साधन आगागमन रोक्ने भनिएको छ । यसैगरी हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकमा सोमबार साँझ ५ः०० बजेदेखि मङ्गलबार बिहान ५ः०० बजेसम्म सवारी साधन रोक्ने सूचनामा उल्लेख गरिएको छ ।

सूचना अनुसार हेटौँडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ भएर जाने सवारी साधन हेटौँडाको चौकीटोलमा र कान्ति लोकपथ भएर आवागमन गर्ने सवारी साधन हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा रोकिने भएको छ ।

यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले भन्दै मकवानपुर प्रशासनले सम्बन्धित सबै निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई सडकमार्गमा तोकिएको स्थान तथा समयपश्चात् सवारी साधन सञ्चालन नगर्न नगराउन तथा सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।

साथै, मौसम तथा सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न समेत सहायक प्रजिअ जोशीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *