प्रशासन कार्यालय सप्तरीले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना, घृणायुक्त अभिव्यक्ति तथा धार्मिक र सामुदायिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न सबैमा आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा सोमबार जारी अपिलमा पछिल्लो समय अन्य जिल्लामा भएका घटनालाई आधार बनाएर फेसबुक, टिकटक, इन्स्टाग्राम, युट्युबलगायत सामाजिक सञ्जालमार्फत भ्रामक अफवाह फैलाउने, एकअर्काको धर्म, आस्था, संस्कृति तथा समुदायप्रति लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने र अमर्यादित टिप्पणी गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
अपिलमा सप्तरीको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक सामाजिक विशेषतालाई संरक्षण गर्दै आपसी सद्भाव, शान्ति, सुरक्षा र अमनचयन कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख गरिएको छ ।
विभिन्न जातजाति, भाषाभाषी, धर्म तथा सम्प्रदायका नागरिकबीच आपसी एकता, सहिष्णुता, सद्भाव र भ्रातृत्वको भावना सुदृढ बनाउन प्रशासनले सम्पूर्ण नागरिक, धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालासमक्ष हार्दिक अपिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले समाजमा उत्तेजना फैलाउने, धार्मिक भावनामा आघात पुर्याउने वा कानुनी व्यवस्था हातमा लिन खोज्ने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ । त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ तथा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।
प्रशासनले सामाजिक सद्भाव र सार्वजनिक शान्ति कायम राख्न जिम्मेवार र संयमित व्यवहार प्रदर्शन गर्न सबै पक्षसँग आग्रह गरेको छ ।

