पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अविरल वर्षापछि खसेको पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक तथा म्याग्दीको बेनीदेखि दरवाङ हुँदै रुकुम जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार रघुगंगा गाउँपालिका–२, बैसरीस्थित सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

उनका अनुसार सडक खुलाउने प्रयासमा प्रहरी र बेनी–जोमसोम सडक आयोजनाको टोली परिचालन भए पनि निरन्तर वर्षाका कारण अवरोध हटाउन कठिनाइ भइरहेको छ।

त्यसैगरी, बेनी–दरवाङ–जलजला–रुकुम सडकअन्तर्गत बेनी नगरपालिका–४, फापरखेतस्थित घुमाउने भिरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेनी नगरपालिका–६, डम्बरामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै सडक खुलाउने प्रयास जारी रहे पनि लगातारको वर्षाले काममा बाधा पुगेको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीले वर्षायाममा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *