‘दाउद इब्राहिमले ताज होटलमा बम राखेको छ ।’ आइतबार बिहान सबेरै मुम्बई प्रहरीमा आएको एउटा फोन कलले प्रहरी संयन्त्रलाई उच्च सतर्कतामा पुर्यायो । फोन आए लगत्तै सुरक्षा निकाय सक्रिय भए र मुम्बईको चर्चित ताज होटलमा खोजी अभियान चलाइयो । धेरै चरणको जाँचपछि पनि प्रहरीले होटलमा कुनै विस्फोटक पदार्थ वा कुनै अप्रिय घटनाको संकेत फेला पारेन । त्यसपछि प्रहरीले उक्त फोन कललाई झुटो सूचना (फेक कल) भएको घोषणा गर्यो ।
प्रहरीका अनुसार फोन नम्बरको पहिचान भइसकेको छ र आरोपीलाई पक्राउ गर्ने प्रयास भइरहेको छ । रिपोर्टका अनुसार राति करिब १२ बजेर १३ मिनेटमा नवी मुम्बई प्रहरी नियन्त्रण कक्षमा एउटा फोन आएको थियो । फोन गर्ने व्यक्तिले अन्डरवल्र्ड डन दाउद इब्राहिमले मुम्बईको प्रसिद्ध ताज होटलमा बम राखेको दाबी गरेको थियो । उक्त जानकारी पाएपछि मुम्बई प्रहरी सक्रिय भयो र कोलाबास्थित ताज होटलमा धेरै टोली पठाइयो । त्यसमा कोलाबा प्रहरी, अपराध शाखा (क्राइम ब्रान्च) र बम डिस्पोजल टोली पनि सहभागी थिए ।
ताज होटलमा भयो व्यापक जाँच
तपाईंलाई जानकारी होस्, मुम्बईको ताज होटल टाटा समूहको स्वामित्वमा रहेको छ । यो विश्वकै चर्चित होटलहरूमध्ये एक हो । सन् २००८ को २६÷११ आतंकवादी हमलाका क्रममा पाकिस्तानी आतंकवादीहरूले यो होटललाई पनि निशाना बनाएका थिए । दुई आतंकवादी होटलभित्र प्रवेश गरी धेरै मानिसको हत्या गरेका थिए । त्यसपछि होटलको सुरक्षा व्यवस्था लगातार कडा बनाउँदै लगिएको छ । हाल यो होटल मुम्बईका सबैभन्दा सुरक्षित क्षेत्रहरूमध्ये एक मानिन्छ । त्यसैले यस्तो प्रतिष्ठित होटलमा आक्रमण वा विस्फोटको धम्की आएमा प्रहरीले निकै सतर्कताका साथ अनुसन्धान गर्ने गर्छ ।
