चीनमा दोस्रो ठूलो ‘बावी’ आँधी, २० लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चीनमा शक्तिशाली आँधी ‘बावी’ ले प्रवेश गरेको छ । एक हप्ताभित्रै चीनलाई प्रभावित पार्ने यो दोस्रो ठूलो आँधी हो ।आँधीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसको मार्गमा पर्ने क्षेत्रबाट करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । मौसम विभागका अधिकारीहरूका अनुसार ‘बावी’ शनिबार साँझ पहिलो पटक ताइझोउ शहरको तटमा ठोक्किएको थियो । त्यसपछि राति यो फेरि वेन्झोउ क्षेत्रमा जमिनमा प्रवेश गरेको थियो ।

यो आँधी करिब १ हजार किलोमिटर क्षेत्रफलमा फैलिएको छ, जुन लगभग फ्रान्सको आकार बराबर हो । चीन पुग्नुअघि ‘बावी’ ले जापानका दुर्गम टापुहरूलाई प्रभावित गरेको थियो भने ताइवानको उत्तरी भागमा भारी वर्षा भएको थियो । यसअघि फिलिपिन्समा यही आँधीका कारण आएको पहिरोमा कम्तीमा १७ जनाको मृत्यु भइसकेको छ ।

यद्यपि अहिले ‘बावी’ कमजोर हुँदै गएको छ, तर यससँगै आएको अत्यधिक चिस्यानका कारण अझै पनि भारी वर्षा र बाढीको जोखिम कायम रहेको छ । मौसम विभागले आँधी उत्तर–पश्चिम दिशातर्फ अघि बढ्दै जाँदा यसको शक्ति क्रमशः कमजोर हुने अनुमान गरेको छ । अधिकारीहरूले आइतबार पूर्वी झेजियाङ प्रान्त र उत्तर–पूर्वी फुजियान प्रान्तमा भारी वर्षा हुन सक्ने चेतावनी दिएका छन् ।

प्रशासनले कुनै गम्भीर अवस्था आउन नदिन मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार झेजियाङ प्रान्तमा मात्रै १७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने छिमेकी प्रान्तहरूबाट पनि हजारौँ मानिसलाई स्थानान्तरण गरिएको छ ।

आँधीका कारण झेजियाङमा विद्यालय, कामकाज र बाहिरी गतिविधिहरू रोकिएका छन् । साथै करिब ४०० उडान र धेरै रेल सेवा रद्द गरिएको छ । चीनको राजधानी बेइजिङमा पनि सावधानीस्वरूप करिब एक लाख मानिसलाई सुरक्षित स्थानमा राख्न निर्देशन दिइएको छ । यसअघि यही हप्ता आएको ‘मायसाक’ आँधीबाट दक्षिणी चीनका धेरै क्षेत्र अझै पूर्ण रूपमा बाहिर निस्कन सकेका छैनन् । ‘मायसाक’ ले ठूलो क्षति पुर्‍याएको थियो, जसमा कम्तीमा ३९ जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *