नेपाली मृत्यु प्रकरण: सदन र सडकमा प्रधानमन्त्रीको राजीनामा माग

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरिएको छ। प्रदर्शनमा उत्रिएका युवा र संसद्मा आवाज उठाएका सांसदले राजीनामा माग गरेका हुन्। काठमाडौंको त्रिपुरेश्वरमा हिजाे बिहीबार महानगर प्रहरीसँग विवादपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

यही घटनालाई लिएर संसद् र सडकबाट सरकारको विरोध हुन थालेको छ। प्रतिनिधि सभाको बैठकमा सांसदले प्रधानमन्त्री शाहको मौनतामाथि प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपाली मृत्य प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गरिन्। ‘प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन ? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईं तर आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन टाढा हुनुहुन्छ ?,’ थापाले प्रश्न गरिन् ।

सरकारले नागरिकको सुरक्षा गर्न नसकेको भन्दै प्रधानमन्त्री शाहको आलोचना गरिन्। कालो चस्मा लगाएर जनताका समस्या देख्न नसकेको  टिप्पणी   गर्दै  थापाले भनिन्, ‘अब कालो चश्मा खोल्ने बेला आएको छ।’

त्यस्तै, राष्ट्रिय सभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्वकर्मा सरकारको क्रुरताका कारण गणेशको ज्यान गएको औँल्याए। ‘बालेन सरकारको क्रुरताका कारण हिजो मुगु निवासी गणेश नेपालीले आगोमा जल्नुपर्‍यो,’ उनले भने।

आगोले जलेर घाइते भएपछि पनि प्रहरीले क्रुर व्यवहार गरेको उनको भनाइ थियो । ‘आगोमा जलेको मान्छेलाई घिसारेर अस्पताल पुर्‍याइन्छ। यो क्रुर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो, यो क्रुर सरकारले कुर्सीमा टाँसिइरहन उचित छैन,’ सांसद विश्वकर्माले भने।

उनले प्रधानमन्त्री शाहले पदबाट राजीनामा दिनुपर्ने माग गरे। ‘नैतिकता छ भने बालेन सरकार राजीनामा गरेर सडकमा आवस,’ राष्ट्रिय सभामा सांसद विश्वकर्माले भने, ‘बालेन सरकार राजीनामा दे ।’

संसद्सँगै सडकमा पनि प्रधानमन्त्री शाहविरुद्ध प्रदर्शन भएको छ। शुक्रबार माइतीघर पुगेका युवाले प्रधानमन्त्री शाहविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले राज्य संयन्त्र गरिब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन् ।

उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद् घटनाहरू दोहोरिएको बताएका छन्। उनीहरूले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

उनीहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेका छन्। राज्यको निरङ्कुशता र संवेदनहीनताले गणेशको ज्यान गएको जिकिर गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *