राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डका अनुसार नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी परीक्षामा सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।
यस वर्ष नियमिततर्फ उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६९.७५ र आंशिकतर्फ ४२.३८ प्रतिशत रहेको छ। समग्रमा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। सरकारले परीक्षा सकिएको ४५ दिनभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएकामा बोर्डले ४० दिनभित्रै प्रकाशन गरेको हो ।
बोर्डको शुक्रबार बसेको बैठकले परीक्षामा अनियमितता गरेको ठहर भएका ४० परीक्षार्थीमाथि कारबाही गरेको जनाएको छ। तीमध्ये ३८ जनाको चालु खण्डका सबै विषयको परीक्षा रद्द गरिएको छ भने दुई परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै आगामी एक वर्षसम्म बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने निर्णय गरिएको छ।
परीक्षाफल बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np, नेपाल टेलिकमको वेबसाइट , एसएमएस, आईभीआर तथा यूएसएसडी सेवामार्फत हेर्न सकिने बोर्डले जनाएको छ।
नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइन आवेदन दिन सक्नेछन्।
