गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए शपथ

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि  तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ लिएका हुन ।  ।

राष्ट्रपति कार्यालयमा आयोजित शपथ समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलसमक्ष मन्त्रीद्वयले पद तथा गोपनीयताको शपथ लिएका हुन  ।  नवनियुक्त मन्त्रीद्वयले  आजै पदबहाली गरेका छन् ।

शपथ ग्रहण समारोहमा  उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारी लगायतको उपस्थिति थियो ।

गृहमन्त्री सुधन गुरुङद्वारा पदभार ग्रहण : दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरे । पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा पुराना र चर्चित काण्डको फाइल खोलेर अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालमा भएको चर्चित दरबार हत्याकाण्डको फाइल पुनः खोलेर छानबिन प्रक्रिया अगाडि बढाउने पहिलो महत्त्वपूर्ण निर्णय गरेका छन्। यसका साथै उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ बढी बलियो र साधनस्रोत सम्पन्न बनाउने तथा हाल छानबिनका क्रममा रहेका सबै अनुसन्धान प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउने निर्णयमा हस्ताक्षर समेत गरेका छन्।

मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा लागेका फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा आवश्यक अध्ययन अगाडि बढाउनेसमेत बताए  ।

आफूविरुद्ध लागेको आरोपबारेको प्रश्नमाथि टिप्पणी गर्दै गृहमन्त्री गुरुङले भने , “ममाथि तथ्यहीन रूपमा आरोप लगाइएको छ। आफूमाथि जस्तोसुकै आरोप लगाए पनि म त्यो थेग्न सक्छु, तर नेपाली चेलीबेटीलाई दुःख दिएको र उनीहरूमाथि  अन्याय भएको म कदापि सहन सक्दिनँ।”

उनले सञ्चारमाध्यम तर्फ सङ्केत गर्दै भने , “मिडिया ट्रायलकै कारण मात्र कुनै पनि व्यक्तिले दबाबमा परेर आत्महत्या गर्ने स्थिति नबनोस् भन्नेमा सबै सचेत हुनुपर्छ।” गृह प्रशासनलाई पारदर्शी, जबाफदेही र नागरिकमैत्री बनाउन आफू लागिपर्ने धारणा उनले राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *