बुढीगंगा नदीमा मनसुनजन्य अभ्यास, कृत्रिम घाइतेहरूको उद्धार

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

अछामको साँफेबगरस्थित बुढीगंगा नदीमा विपतजन्य पूर्वाभ्यास गरिएको छ । मनसुन नजिकिँदै गर्दा पूर्वसतर्कताका लागि बिहीबार यस्तो अभ्यास गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय, गोरख बक्स गण मंगलसेन ब्यारेक, सशस्त्र प्रहरी बल नम्बर ४९ गुल्म र नेपाल प्रहरीको टोलीले पहिरो, आगलागी तथा बाढी आउँदा नदीमा बगेकाहरूको उद्धार र प्राथमिक उपचारबारे कृत्रिम अभ्यास गरेर  पूर्वसतर्कताका उपाय प्रदर्शन गरेको गोरख बक्स गणका गणपति प्रमुख सेनानी राजु महर्जनले बताए ।

उनीहरूले रेस्क्यु रोप, डुंगा र मोटरेबल पुलमा बाँधिएको डोरीमार्फत नदीमा बगेकाहरूको उद्धार  गरेर देखाएका थिए । जसले मनसुन सक्रिय हुने तयारीमा रहेका वेला पूर्वसचेतना विस्तारमा सहयोग गरेको भन्दै जिल्लाको तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीले आफूहरू पनि विपत् जोखिम न्यूनीकरणमा गम्भीर लागिरहेको बताए । उनले घाइतेको तत्काल उद्धार र उपचारमा स्थानीय तह, सुरक्षा निकाय र सरोकारवालाहरूको संयुक्त पहल हुनुपर्नेमा जोड दिए ।

विपत् आउँदा सुरक्षा निकायले आफ्नो ज्यान जोखिममा राखेर भए पनि उद्धार कार्यमा सक्रियता देखाउने गरेको भन्दै साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवरले यो काममा सहयोग गर्न स्थानीय तह सधै साथमा रहेको बताए ।
प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले विपत् बाजा बजाएर नआउने भएकाले यसमा सबै चनाखो रहनुपर्नेमा जोड दिए ।

त्यसका लागि जिल्ला विपत् व्यवस्थापन समितिले सबै खालका आवश्यक भूमिका खेल्ने बताए । प्रजिअ बुढाले वास्तविक घटनाको झल्को दिने यस्ता कृत्रिम अभ्यासले साँच्चै विपत् आउँदा फाइदा पुग्ने भन्दै यसबाट भरपूर ज्ञान लिन स्थानीयलाई आग्रह गरे ।

जनप्रतिनिधि, सरोकारवालाहरू र स्थानीयको उपस्थितिमा बुढीगंगा नदीमा आयोजना गरिएको विपत् पूर्वतयारी तथा प्रतिकार्य संयुक्त अभ्यासअन्तर्गत ‘अभ्यास मनसुन–६’ मा सिमलकुना गाउँको काल्पनिक कथा सिर्जना गरी कृत्रिम अभ्यास गरेर देखाइएको थियो । त्यस क्रममा बयलपाटा प्रादेशिक अस्पताल, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय सुरक्षा दल र स्थानीय स्वयंसेवकको टोलीले घाइतेहरूको उपचार र एम्बुलेन्समार्फत अस्पताल लैजाँदा अपनाउनुपर्ने सुरक्षाबारे अभ्यास पनि गरेर देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *