तराईमा गर्मी, ‘हिल स्टेशन’मा चहलपहल

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

तराईमा सहनै मुस्किल हुने गर्मी र तातो हावा चल्ने गरेको छ । गर्मीका कारण दिउँसो घरबाहिरका गतिविधि सुनसान देखिन्छन् । यतिबेला गर्मी छल्नकै लागि कतिपय मौका छोपेर पहाड उक्लने गरेका छन् । तराईको ताप छल्न आउनेले पहाडका गन्तव्यमा भीड लाग्ने गरेको छ ।

गर्मी छल्न पहाड उक्लनेहरु व्यक्तिगत भन्दा पारिवारिक तथ साथीभाईको समूहमा जाने धेरै देखिन्छन् । स्वदेशीमात्र होइन भारतका विभिन्न सहरबाट पनि गर्मी छल्न नजिकका पहाडी गन्तव्यमा ओइरो लाग्न थालेको छ । तराई र भारतबाट गर्मी छल्न आउनेका लागि अर्घाखाँची, पाल्पा, चितवन र पूर्वी पहाडका केही स्थान गन्तव्य बनेका छन् ।

अर्घाखाँचीको नरपानी स्वदेशी र भारतीय पर्यटकको रोजाइ बनेको छ । नरपानी गर्मीयाममा पर्यटकले खचाखच हुने ठाउँ हो । पर्यटकको आगमन बढेपछि नरपानी–सुपा देउराली क्षेत्रमा होटल खुल्ने क्रम बढेको छ । अहिले त्यहाँ रहेका अधिकांश होटल अग्रीम बुकिङ भइसकेका छन् । सुपा देउराली नरपानी रिसोर्टका सुपरभाइजर पदम केसीले २० वटै कोठा तीन दिनका लागि बुकिङ भइसकेको बताए । ‘बुकिङ गर्ने धेरै भारतीय र केही तराईतिर बसोबास गर्ने नेपाली पनि छन्,’ उनले भने । फोन, ह्वाटसअप र फेसबुक म्यासेन्जरबाट बुकिङ लिने गरेको उनले बताए ।

Summer in the Terai, bustling at the 'hill station'

गर्मी छल्न यहाँ आउने पर्यटकले रैथाने परिकार रुचाउने गरेको उनले बताए । ‘तराई र भारतका सहरमा अति गर्मी छ,’ उनले भने, ‘नरपानीमा अहिले पनि सिरक ओढेर सुत्नुपर्छ ।’ सुपा देउरालीका अन्य होटल पनि बुकिङ छन् । भारतको सिद्धार्थनगरबाट मंगलबार परिवारसहित आएका राजेन्द्र महतो नरपानीमै बसे । बिहान सुपा देउराली मन्दिर दर्शन गरेर दुई किलोमिटरनजिकको नरपानी पिकनिक स्पटमा प्रसाद लिएपछि परिवारै स्थानीय होटलमा बसे । बिहान उठेर खाँचीकोट हिलस्टेसनमा पदयात्रा गरे । ‘दुई दिन भए पनि नरपानीको चिसोमा बस्दा फ्रेस भइयो,’ उनले भने, ‘अब फर्किएर बिजनेसको काम गर्छु ।’ चार वर्षयता हरेक समय गर्मी छल्न नरपानी आइरहेको उनले बताए ।

नेपाल–भारत सीमा कपिलवस्तुको कृष्णनगरबाट नरपानीनजिक भएकाले भारतीय नागरिक सुपा देउराली मन्दिर दर्शन र नरपानीमा गर्मी छल्न पुग्ने गरेका छन् । लुम्बिनी प्रदेशका तराईका जिल्लाबाट पनि धेरै सर्वसाधरण नरपानी जाने गरेका छन् । नरपानीमा अहिले जाडोको लुगा लगाउनुपर्छ । राति आगो तापेर बस्नुपर्छ । सिरक ओढेर सुत्न पाइने भएकाले एकपटक यो पहाडी गन्तव्य पुग्ने धेरै छन् ।

अर्घाखाँचीसित जोडिएको पाल्पा ‘हिल स्टेशन’मा परिणत भएको छ । भारतको उत्तरप्रदेशमा तापक्रम उकालो लागेसँगै त्यहाँबाट गर्मी छल्न पाल्पासम्म आउने थालेका हुन् । उत्तरप्रदेशको सोनौली, नौतनहवा, गोरखपुर, बस्ती, लखनउलगायतका स्थानबाट गर्मी छल्न पर्यटक यहाँ आइरहेका छन् । रुपन्देहीको बेलहिया नाकाबाट ६४ किलोमिटर उत्तर पाल्पामा चिसो मौसम छ । पाल्पामा १९ देखि २६ डिग्री सेल्सियस हाराहारी तापक्रम छ । त्यसमाथि छिनमै हुस्सु लाग्ने र पानी पर्छ ।

Summer in the Terai, bustling at the 'hill station' उत्तरप्रदेशको महाराजगञ्जबाट श्रीमतीसहित एक दिनका लागि आएका घुम्न अरविन्दकुमार मिश्राले मौसम रमाइलो लागेपछि दुई दिन बसेको बताए । जिल्लामा आन्तरिकसँगै भारतीयको आगमन बढेको छ । तानसेनलगायत ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ ।

तराईमा पर्यटक घटेका बेला पाल्पामा सिजन चलिरहेको सिर्जना फार्मका चिफ मार्केटिङ अफिसर कमल पौडेलले बताए । ‘पाल्पाका सबै रिर्सोट भरिभराउ छन्,’ उनले भने, ‘पोखरा र मुक्तिनाथबाट फर्किएर पाल्पामा बसिरहेका छन् ।’ उनका अनुसार सिर्जना फार्म जेठ २४ सम्म बुक भइसकेको छ । भारतीयबाहेक युरोपियन पनि आइरहेको उनले बताए । बुटवलबाट ३९ किलोमिटर टाढा भएकाले बुटवल र भैरहवाबाट गर्मी छल्न यही आउने गरेको उनले सुनाए ।

तराईमा अत्यधिक गर्मी बढ्ने वैशाख, जेठमासमेत तानसेनमा चिसो हुन्छ । चिसो मौसम, पहाडको बस्ती, बतासे र श्रीनगरडाँडामा पुगेर हिमालको हावासंँग रमाउन पर्यटक यहाँ आउने गरेका छन् । ‘गोरखपुरबाट गर्मी छल्ल आउनेको संख्या धेरै छ,’ तानसेनस्जिथत होटल पौवाका प्रबन्धक यदु भट्टराइले भने, ‘आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल बढेकै छ । यसले तानसेन क्षेत्रलाई चलायमान बनाएको छ ।’

भारतको आगरा, लखनउ, महाराष्ट्रसम्मका पर्यटक आउने गरेको उनले बताए । पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष लक्ष्मण बस्यालले भारत र तेस्रो मुलुकका पर्यटक मात्र होइन आन्तरिक पर्यटक पनि पाल्पाको मोसम देखेर दंग पर्ने गरेको बताए । गोरखपुर, कुशीनगर, लखनउ, उत्तराखण्डलगायतबाट बढी पर्यटक आउने गरेको उनले बताए ।

भारत फैजावादका सुल्तान आलम खानले यहाँ आएपछि गर्मीको अनुभव नभएको बताए । ‘गर्मीमा हामी धेरै पटक घुम्न आएका छौं,’ उनले भने, ‘यस्तो राम्रो मौसमको प्रचार भने रहेनछ ।’ नैनीताल, मसुरी, दार्जीलिङ भन्दा तानसेनलाई राम्रो भएको भारतीय पर्यटक प्रतिक्रिया दिने गर्छन् ।

तानसेन सुनौली (भैरहवा) बाट ६५, लुम्बिनीबाट ८६, पोखराबाट १ सय २० र काठमाडौंबाट ३ सय किलोमिटर दुरीमा रहेको छ । समुन्द्री सतहबाट करिब १ हजार ३ सय मिटरको तानसेन र यहाँबाट नजिकमा रहेको १ हजार ६ सय मिटरमा रहेको श्रीनगरडाँडाले पर्यटकलाई आकर्षित गर्छ ।

विराटनगरबाट पारि भारतको विहारमा ३५ डिग्री भन्दा माथि तापक्रम छ । विराटनगरमा अहिले ३० डिग्री आसपास छ । विराटनगरदेखि करिब ६० किलोमिटर उत्तर भेडेटारको तापक्रम २० डिग्री मात्रै छ । त्यसमाथि बाक्लो हुस्सु लाग्छ । बेला–बेला सिमसिम पानी पर्छ । चिसो मौसका कारण भेडेटारमा भीड बाक्लिएको छ । आन्तरिकबाहेक भारतीय पर्यटकको चहलपहल बढेको होटल व्यवसायीको भनाई छ । विहारका बासिन्दाको रोजाईमा भेडेटार परेको छ । ‘विहारबाट आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ’, स्थानीय होटल व्यवसायी संजय राईले भने,‘जसले गर्दा पर्यटन क्षेत्र चलायमान बनाएको छ ।’

Summer in the Terai, bustling at the 'hill station' समुद्री सतहबाट १ हजार ४ सय मिटर उचाइमा अवस्थित भेडेटारमा दैनिक सयौं भारतीय पर्यटक पुग्छन् । स्थानीय होटल व्यवसायीका अनुसार विहारका पूर्णिया, कटिहार, अररिया, किशनगञ्ज, सहर्षा र भागलपुरलगायतका क्षेत्रबाट धेरै पर्यटक आइरहेका छन् । अधिकांश भारतीय शनिबार अपरान्ह नेपाल प्रवेश गर्छन् । यहाँ आएर शनिबारको रात भेडेटारमा बिताएर आइतबार अपरान्ह मात्र फर्किने गरेको भेडेटारका होटल सञ्चालक जुद्धबहादुर लिम्बुले बताए ।

भेडेटार होटल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठका अनुसार गर्मी छल्न भारतीयका साथै आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेको छ । शनिबार र आइतबार दुई दिन बिदा हुन थालेपछि झनै आन्तरिक पर्यटकको संख्या बढेको छ । भेडेटारमा हाल साना–ठूला र मझौला गरी दुई सय बढी होटल संचालित छन् । ती सबै होटल प्राय: भरिभराउ नै हुने गरेका छन् । विराटनगरबाट भेडेटारको दूरी करिब ६० किलोमिटर छ । सडकमार्गबाट करिब २ देखि अढाई घन्टामा भेडेटार पुग्न सकिन्छ । पछिल्लो समय सडक अवस्था सुधार भएपछि भारतीय पर्यटकका लागि यात्रा अझ सहज बनेको विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठ बताउँछन् ।

चितवनको इच्छाकामना–२ स्थित पहाडी गाउँ मायाटार गर्मी छल्ने स्थानका रुपमा प्रख्यात छ । मलेसिया र दुबईमा १० वर्ष बिताएर फर्किएका टिका गुरुङले गाउँमा ‘मायाटार होमस्टे’ सुरु गरे । यही होमस्टेले चितवनलाई नयाँ परिचय पनि दिएको छ । निकुञ्जका दुर्लभ बाघ र गैंडा अवलोकन गर्न आउने पर्यटक अहिले गर्मी छल्न मायाटार उक्लिन थालेका छन् । निकुञ्ज रहेको क्षेत्रमा अत्यधिक गर्मी छ ।

मायाटारमा अहिले पनि सिरक ओढ्नुपर्छ । लगभग एक सय वर्ष पुरानो खरले छाएको घरलाई चिटिक्क पारेर टिकाले ओहरदोहर गर्नेका लागि खानाखाजा र बासको प्रबन्ध गरेका थिए । ‘सामाजिक सन्जालमा मायाटारको चिसो हावापानीकाबारे लेखेपछि धेरैले सोधखोज गरे,’ उनले भने, ‘गर्मीमा चिसो ठाउँबारे चासो राख्दै आउने जाने क्रम सुरु भयो । त्यसपछि लर्को लागिरहेको छ ।’ होमस्टेमा सुरुमा २० र अहिले ५० जना अटाउँछन् । शक्तिखोर–फिस्लिङ सडक हुँदै मायाटार पुगिन्छ  । भरतपुर प्रहरी तालिम केन्द्रबाट पूर्व बरण्डाभार जंगल छिचोल्दै पदमपुर, जुटपानी, शक्तिखोर हुँदै मायाटार पुगिन्छ ।

Summer in the Terai, bustling at the 'hill station' भरतपुरबाट मायाटार ४० किलोमिटर टाढा छ । प्राय: सडक कालोपत्र भएको छ । उपरदाङगढी चितवनको पुरानो सदरमुकाम हो । पहिले उपरदाङगढीसम्म फाट्टफुट्ट मानिस पुग्थे । मायाटारको चर्चापछि त्यहाँ पनि पर्यटक जान थालेका छन् । ‘अहिले मायाटार वरपर ७ वटा होटल खुले,’ इच्छाकामना–२ का वडाध्यक्ष पञ्च चेपाङले भने, ‘चिसो ठाउँका कारण मान्छे आउँछन् ।’

मायाटारका गाउँमा जाडोयाममा पनि मजाले घाम लाग्छ । जाडोमा पहार ताप्न मायाटार आउने गरेको टीकाले बताए । भरतपुर–२९ को चौकीडाँडा पनि चिसो ठाउँका रुपमा चर्चित छ । त्यहाँ पनि तीन वटा होमस्टे छन् । नारायणगढ–मुग्लिन सडकको भोर्लेबाट दक्षिण पहाडी टाँकुरामा चौकीडाँडा छ । त्यहाँबाट मौसम खुलेका बेलामा हिमश्रृङ्खला देख्न सकिन्छ । हावापानी चिसो छ । नारायणगढबाट भोर्ले २० किलोमिटर पर छ । भोर्लेबाट चौकीडाँडा ९ किलोमिटर पर छ । ‘अहिले बाटो सजिलो भएको छ । ग्राभेल राखेर सम्याएका छौं । छिट्टै पिच हुन्छ,’भरतपुर–२९ का वडाध्यक्ष सुर्यबहादुर गुरुङले भने, ‘पहिला भोर्लेबाट चौकीडाँडा जान गाह्रो थियो । मोटरसाइकलमा एक घण्टा लाग्थ्यो । अहिले २० मिनेट जतिमा पुगिन्छ ।’

साभारः कान्तिपुर दैनिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *