युक्रेन युद्धले कमजोर बन्दै रुसको अर्थतन्त्र

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमणको आदेश दिने निर्णयमा कहिल्यै पछुतो मानेको देखिन्न । आफ्नो छिमेकीविरुद्धको शत्रुतालाई समाप्त गर्ने कुनै छाँट पनि उनले देखाएका छैनन् ।

पुटिनले चार वटा युक्रेनी भूभाग (लुहान्स्क, डोनेत्स्क, जापोरिझिया र खेर्सन) कब्जा गरिसकेको दाबी गरेका छन् । तर रुसी सेनालाई यी सबै क्षेत्र आफ्नो नियन्त्रणमा राखिराख्न मुस्किल परिरहेको छ । डोनेत्स्कबाट युक्रेनी सेनालाई हटाउनु पुटिनको अहिलेको मुख्य लक्ष्य हो । यसपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीको सत्ता ढाल्ने र आफ्ना सर्तमा युक्रेनलाई सहमत गराउने पुटिनको योजना छ ।

यस वर्ष आफ्नो योजना सार्थक बनाउन रुसले युक्रेनमा धेरै पटक आक्रमण गरिसकेको छ । सोमबारमात्रै रुसले राजधानी किभ, निप्रोलगायत सहरहरूमा शृंखलाबद्ध मिसाइल आक्रमण गर्‍यो । २१–२२ मेमा लुहान्स्कको स्टारोबिल्स्कनजिकै एक छात्रावासमा भएको आक्रमणको जवाफमा प्रत्याक्रमण गरिएको रुसको दाबी थियो । आक्रमणमा २२ जनाले ज्यान गुमाएका छन् भने एक सयभन्दा बढी घाइते भएका छन् ।

रुसको आर्थिक सामर्थ्यलाई विश्वसामु देखाउने लक्ष्यले प्रत्येक वर्ष आयोजना हुने सेन्ट पिटर्सवर्ग अन्तर्राष्ट्रिय आर्थिक फोरमको पूर्वसन्ध्यामा यो आक्रमण गरिएको थियो । युद्ध सुरु भएयता ठूला पश्चिमा लगानीकर्ता तथा राजनीतिज्ञहरू आउन छाडेको भए पनि सेन्ट पिटर्सवगमा बुधबारदेखि सुरु भएको फोरममा १ सय ३० देशका प्रतिनिधि सहभागी छन् ।

बीबीसी रसियाका सम्पादक स्टिभ रोसनवर्ग लेख्छन्, ‘विदेशी लगानी खोजिरहेको देशका लागि छिमेकीसँगको चार वर्षको युद्ध पक्कै राम्रो होइन । तर, रुसले आफ्नो परिचय स्थापित गरिसकेको छ । कुनै भेला होस् वा नहोस्, युक्रेनमाथिको आक्रमण निरन्तर जारी रहन्छ ।’

चौथो वर्षमा चलिरहेको युद्धमा मृतक र घाइतेको संख्यालाई लिएर दुवै पक्षका आ–आफ्नै दाबी छन् । जसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । तर, दोस्रो विश्वयुद्धपछि युरोपमा चलेको सबैभन्दा लामो युद्धका कारण ठूलो जनसंख्या मारमा परेको छ । युद्धका कारण दसौं लाखले थातथलो छाड्नुपरेको छ ।

गत वर्ष रुसी अधिकारीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोका सर्तहरूमा युक्रेनलाई सहमत गराएर युद्ध अन्त्य गराउन सक्रिय रहनेमा विश्वस्त देखिएका थिए । अगस्ट २०२५ मा अलास्कामा अमेरिका–रुस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेनबारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रुसी अधिकारीहरूको थियो । तर, शान्तिवार्ता परिणाममुखी भएन । बरु फेब्रुअरीको अन्त्यमा अमेरिका आफैं इरान युद्धमा होमियो । अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वरिष्ठ सरकारी अधिकारीहरूले पुटिनलाई युक्रेन युद्धको खर्च धान्नै नसकिने अवस्थामा पुगिरहेको जानकारी गराइएका छन् । युद्ध सुरु भएयता रुसी संस्थापनभित्र आर्थिक पाटोबारे पहिलो पटक खुलेर छलफल हुन थालेको हो । अमेरिकी सञ्चारसंस्था ब्लुम्वर्ग न्युजलाई प्राप्त दस्तावेज र आन्तरिक सूचनाअनुसार रुसको अर्थ मन्त्रालय र केन्द्रीय बैंकका अधिकारीहरूले रक्षा बजेट कटौती गर्न सुझाव दिएका छन् । अहिलेको रक्षा खर्चले सरकारको बजेट घाटा बढाएर समग्र अर्थतन्त्रलाई जोखिममा पार्ने चेतावनी पनि उनीहरूले दिएका छन् । जबकि, रक्षा मन्त्रालयका अधिकारीहरू पुटिनको युद्ध लक्ष्यप्रति प्रतिबद्ध छन् र त्यसका लागि सैन्य खर्च बढाउनुपर्ने लबिइङ गरिरहेका छन् । देशका धेरैवटा व्यापार–व्यवसाय सेनासँग सम्बन्धित ठेक्का–सम्झौतामा चलिरहेकाले सुरक्षा खर्च घटाउँदा अर्थतन्त्रमा उल्टै नकारात्मक प्रभाव पार्ने उनीहरूको तर्क छ । यसले रक्षा मन्त्रालयका वरिष्ठ अधिकारी र देशका नीति निर्माताबीच विभाजन ल्याइदिएको छ । पुटिनले पहिले अन्य क्षेत्रमा खर्च कटौती गरेपछि मात्रै रक्षा बजेट कटौती गर्नका लागि आदेश दिएको जानकारहरूले बताएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनका प्रवक्ता दिमिट्री पेस्कोभले यी विषयमा तत्कालै कुनै प्रतिक्रिया दिएका छैनन् । रुस सरकारनिकट दुई स्रोतका अनुसार रक्षा मन्त्रालयले खर्च बढाउनुपर्ने माग पनि गरिरहेको छ ।

बजेटको दबाबबारे पुटिन सतर्क छन् । कुनै पनि कटौती उनको निर्णयबिना हुनेछैन । इरान युद्धले कच्चा तेलको भाउ बढेकाले रुसी तेल कम्पनीहरूले यसबाट केही फाइदा लिएका छन् । तर तेल व्यापारबाट प्राप्त रकमले मात्रै रुसको आर्थिक समस्या सम्बोधन हुँदैन । ‘कम्तीमा एक वर्षसम्म तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलरभन्दा बढी रहेको भए रुसको अर्थतन्त्र र वित्तीय क्षेत्रमा देखिएको संकट केही समाधान हुन सक्ने थियो होला,’ जानकार स्रोतले भनेको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा गत वर्षको दाँजोमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ० दशमलव ५ प्रतिशतले घटेको बिहीबार रुसको केन्द्रीय बैंकले जनाएको छ । पछिल्ला तीन वर्षयता रुसमा पहिलो त्रैमासिकभित्रै जीडीपी घटेको यो पहिलो पटक हो ।

सन् २०२८ सम्मको तीनवर्षे बजेट योजना बनाउने क्रममा रक्षा खर्च थोरैमात्र बढ्ने आकलन गरिएको थियो । सन् २०२६ मा रक्षा खर्च अधिकतम ४ देखि ५ प्रतिशतले बढ्ने आकलन थियो । तर, पछिल्लो समय हतियारमा ठूलो लगानी गर्दा यो खर्च झन्डै ३० प्रतिशतले बढेको छ । जसले गर्दा आर्थिक असन्तुलन निम्तिएको छ ।

अर्थतन्त्रमा देखिएको चुनौतीकै कारण अर्थ मन्त्रालयले आथिक वृद्धि ० दशमलव ४ प्रतिशतले मात्रै बढ्ने आकलन गरेको छ । जबकि, यसअघि १ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो ।

२७ मेमा एक अन्तर्वार्तामा अर्थतन्त्री एन्टन सिलुवानोभले रक्षा र सामाजिक दायित्वअन्तर्गतका खर्च जोगाउनका लागि सार्वजनिक खर्चमा कटौती गर्नुपर्ने जरुरी रहेको बताएका थिए । ‘रिजर्भहरू अन्त्यहीन हुँदैनन् । विश्वमा भइरहेको ठूलो रूपान्तरणको सन्दर्भमा वित्तीय कमजोरी सहन सकिँदैन,’ उनले भनेका थिए, ‘हामीले बजेट खर्चलाई प्रभावकारी बनाउन यसमा सुधार गर्नुपर्छ ।’

रुसले युद्ध सुरु गर्दा छोटो अवधिमै लक्ष्य हासिल गर्ने अनुमान गरेको थियो । तर, युद्ध सुरु भएको चार वर्ष बढी नाघिसकेको छ । यस अवधिमा युद्धमैदानमा रुसले ठूलो क्षति व्यहोरेको छ ।

अर्थतन्त्र र प्रविधिमा आवश्यक लगानी गर्न नसक्दा रुस निकै पछि परेको छ । ‘आजका दिनमा युक्रेनी ड्रोनहरू रुसभित्रै पुगेर आक्रमण गर्न सक्छन् । तेल प्रशोधनगृह र ऊर्जा पूर्वाधारमा लगातार निसाना साँधिरहेका छन् । गत महिना युक्रेनी ड्रोनले मस्को क्षेत्रमै आक्रमण गर्‍यो । यसले रुसको वायु प्रतिरक्षा प्रणालीलाई निस्तेज गर्न सकिन्छ भन्ने देखायो,’ बीबीसीका मस्को संवाददाता स्टिभ बर्नेट रोजनवर्ग लेख्छन्, ‘ चार वर्षभन्दा लामो युद्ध र हजारौं अन्तर्राष्ट्रिय प्रतिबन्धले रुसको अर्थतन्त्रलाई नराम्ररी प्रभावित गरेको छ ।’

रुसको सत्ता समर्थक ‘अ जस्ट रसिया पार्टी’ का सांसद सदस्य भालेरी गार्टुङले गत साता देशको बढ्दो बजेट घाटालाई लिएर संसद्मै असन्तुष्टि पोखेका थिए । रुसको बजेट घाटा ११ ट्रिलियन रुबल (१ सय ५० अर्ब डलर) पुगेको उल्लेख गर्दै उनले भनेका थिए, ‘यसलाई लिएर हामी के गर्छौं ? पैसा छाप्ने ? सन् १९९२ कै अवस्था आइसक्यो, हरेक साता मूल्य ३० प्रतिशतले बढ्दै गएको छ ।’

वासिङ्टन पोस्टका अनुसार हरेक महिना दसौं हजार रुसीहरू युद्धमा मारिएका वा घाइते छन् । अर्को शब्दमा भन्नुपर्दा, सेनामा नयाँ भर्ती हुनेको दाँजोमा घाइते वा मृत्यु हुनेको संख्या धेरै छ ।

यसैबीच इस्टोनियाको विदेश मन्त्रालयका सचिव जोनाथन भेस्भियोभले सामाजिक सञ्जाल एक्समार्फत रुसले नाटोसँग तनाव बढाउन सक्ने चेतावनी दिएका छन् । ‘पश्चिमा देशलाई सहमतिको पासोमा ल्याउने अन्तिम प्रयासस्वरूप, युक्रेनप्रतिको उनीहरूको समर्थन घटाउने लक्ष्य र अहिलेको अवस्थाबाट ध्यान मोड्नका लागि रुसले नाटोसँग पनि लडाइँ लड्न सक्छ ।’ यसै महिनाको सुरुवातमा युक्रेन युद्ध निष्कर्ष नजिक पुगिसकेको दाबी पुटिन गरेका थिए ।

रुसी विश्लेषक र एक युरोपेली अधिकारीका अनुसार अमेरिकालाई शान्तिवार्तामा संलग्न हुनका लागि आकर्षित गर्न मस्कोले लडाइँको चेतावनी दिइरहेको छ । ट्रम्प प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई डोनेट्स्क क्षेत्रबाट युक्रेनी सेना हटाउनका लागि दबाब दिने दिन कुरेर रुस बसेको हुन सक्छ ।

तर, युक्रेनले यसरी सैनिक फिर्ता बोलाउने सम्भावना कम रहेको कार्निज रसिया युरोसिय फाउन्डेसनकी सिनियर फेलो टाटिआना स्टानोभायाले वासिङ्टन पोस्टसँग भनेकी छन् । ‘रुसको सैन्य ताकत घट्दो छ । अर्कोतर्फ युक्रेनले आक्रमणलाई तीव्रता दिइरहेको छ । अमेरिकाले मध्यस्थता गरिरहेको छैन । यो सबै परिस्थिति पुटिनले सोचेभन्दा प्रतिकूल छ । जब अवस्था नियन्त्रण हुँदैन, तब लडाइँ नै प्रतिक्रियाको एकमात्रै माध्यम बन्छ । मलाई लाग्दैन युक्रेनले सेना हटाउँछ,’ उनले भनिन् ।

एजेन्सीहरू काे सहयाेगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *