अर्मेनियाका प्रधानमन्त्रीद्धारा पुटिनको प्रस्ताव अस्वीकार

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

जनमतसंग्रहलाई लिएर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको आग्रह अर्मेनियाका प्रधानमन्त्री निकोला  पासिनयानले अस्वीकार गरेका छन् ।

सोमबार प्रधानमन्त्री पासियानलाई जन्मदिनको शुभकामना दिदैं पुटिनले युरासियन इकोनोमिक युनियन (ईएईयू) छाडेर युरोपेली युनियन (ईयू) मा आबद्ध हुने विषय जनमतसंग्रहमार्फत टुंग्याउन आग्रह गरेका थिए ।

तर पुटिनले गरेको यस्तो तर्कविहिन मागलाई अस्वीकार गरिएको पासिनयानले बताए । रुसी नेतृत्वको युरासियन आर्थिक युनियन (ईएईयु) मा सदस्य रहदैं आएको अर्मेनियाले पछिल्लो समय ईयू सदस्यताका लागि पहल गर्दै आएको छ । तर, अहिलेसम्म औपचारिक निवेदन दिइसकेको छैन ।

अर्मेनियाको संसद्बाट मार्च २०२५ मा पास भएको कानुनमा ईयू सदस्यता प्रक्रिया सुरु गर्ने उल्लेख छ ।

यसअघि अर्मेनियाले गत महिना आयोजना गरेको पहिलो ईयू सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसहितका नेताहरु उपस्थित थिए । फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोलाई पनि अर्मेनियाले स्वागत गरेको थियो । यी कदमहरुको रुसले आलोचना गर्दै आएको छ ।

२९ मेमा रुस र ईएईयुका अन्य सदस्य राष्ट्र बेलारुस, काजाकिस्तान र किर्गिजस्तानले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै जनमतसंग्रहमार्फत ईएईयूमै बस्ने वा ईयूमा आबद्ध हुने निर्णय लिन अर्मेनियालाई आग्रह गरेका थिए ।

पुटिनले ईएईयूमा आबद्ध देशहरु युरोपेली युनियनको सदस्य बन्न नमिल्ने बताउँदै आएका छन् । जबकि, पासिनयानले दुईमध्ये एक रोज्नुपर्ने अवस्था नआउँदासम्म आफ्नो देशले दुबै संस्थाको सदस्यता लिने बताएका छन् । त्यस्तै, ईयू सदस्य हुनका लागि औपचारिक आवेदन दिनुअघि गरिने कुनै पनि जनमतसंग्रह व्यवहारिक रुपमा अर्थपूर्ण नहुने उनले बताएका छन् ।

‘सैद्धान्तिक रोजाईलाई लिएर जनमतसंग्रह गर्नु संवदेनशील र व्यवहारिक दुबै हुँदैन,’ पासिनयानले भने । उनले रुससँगको सम्बन्ध रुपान्तरणको चरणमा रहेको बताए ।

७ जुन, आइतबार अर्मेनियामा संसदीय चुनाव हुँदैछ । निर्वाचनले अर्मेनियाको भू–राजनीतिक निकटतालाई पुनव्र्याख्या गर्नसक्ने भएकाले यसलाई निकै चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री पासिनयानको पश्चिमा देशहरुसँग निकै राम्रो सम्बन्ध छ । अर्कोतर्फ, प्रतिपक्षी दलहरुले रुससँगको सम्बन्धलाई सुदृढ बनाउनुपर्ने बताउँदै आएका छन् । उनीहरुले अर्मेनियालाई युक्रेनको बाटोमा लैजान खोजेको आरोप पासिनयानमाथि लगाउँदै आएका छन् ।

सोमबारमात्रै रुसको कृषि नियामक निकायले जनस्वास्थ्यको कारण देखाएर अर्मेनियाबाट माछा तथा समुद्री खानाको आयात बन्द गर्ने निर्णय गरेको थियो । अर्मेनियाको समुद्री खाना र माछा उद्योगको ३० प्रतिशत बजार हिस्सा रुसले ओगट्छ ।

रुसले अर्मेनियाबाट आउने फूल, मिनरल वाटर र अल्कोहलमा पनि प्रतिबन्ध लगाएको छ । अर्मेनियाको अर्थतन्त्र र आगामी निर्वाचनको परिणामलाई प्रभावित गर्नेगरी रुसले कदम चालेको भन्दै युरोपेली युनियनले यसको निन्दा गरेको छ । तनाव बढ्दै जाँदा रुसले अर्मेनियाबाट आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ ।

सोभियत संघको पूर्व हिस्सा तथा लामो समयदेखि रुसको सहयोगी राष्ट्र रहेको अर्मेनियाले सन् २०२३ पछि आफ्नो अर्थतन्त्रलाई विविधिकरण गर्दै लगेको छ ।

सन् २०२३ मा नोगार्नो–काराबाखमा अजरबैजानले आक्रमण गर्दा रुसले सहयोग नगरेको अर्मेनियाको गुनासो छ । यस लडाँइमा अर्मेनियाले आफ्नो नियन्त्रणमा रहेको भूभाग गुमाएको थियो ।

एजेन्सीहरू काे सहयाेगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *