नेपालले मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित निकालेकोछ।समूह ‘डी’ अन्तर्गत बिहीबार भएको खेलमा नेपालले भुटानलाई ५१ रनले हरायो । जितसँगै नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यसअघि समूहको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो ।
जितका लागि एक सय १४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा आठ विकेटको क्षतिमा ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि देन्छि वाग्मोले सर्वाधिक ३९ रन बनाइन भने छादो ओमले ११ रन जोडिन यस बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका रुबिना क्षेत्रीले तीन विकेट लिइन भने रिया शर्माले दुई तथा कविता कुवँर र मनिषा उपाध्यायले एक एक विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १३ रन बनाएको थियो । नेपालका लागि सिता रानामगरले सर्वाधिक ३७ रन , रुविना क्षेत्रीले २४, सोनी पाख्रीनले १३ र सम्झना खड्काले १० रन बनाए ।
बलिङमा भुटानकी छिरिङ ज्याङ्बो र सोनामले तीन तीन विकेट लिए । कप्तान अञ्जु गुरुङले दुई तथा रित्शी चोदेन र रिया प्रधानले एक एक विकेट लिन सके । नेपालले समूहको तेस्रो तथा अन्तिम खेलमा शनिबार हङकङसँग खेल्नेछ ।
नेपाल रन रेटका आधारमा एक खेल अगावै अघिल्लो चरणमा पुगेको हो । १८ देशको सहभागिता रहेको प्रतियोगितामा समूह ‘डी’ नेपालसहित कतार, हङकङ र भुटान छ ।
सहभागी देशलाई चार समूहमा विभाजन गरिएको छ । यस्तै समूह ‘ए’ मा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन र मङ्गोलिया रहेको छ । समूह ‘बी’ युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब रहेको छ ।
समूह ‘सी’ मा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहको छ । समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा प्रवेश गर्ने छन् । क्वार्टरफाइनल खेलका विजेता एसिसी एसिया कपमा छनोट हुने छन् ।
