अमेरिकाले आफ्नो अध्यागमन नीतिमा ठुलो परिवर्तन गर्दै अब अधिकांश ग्रिन कार्ड चाहने विदेशी नागरिकहरूले अमेरिकाभित्रै बसेर आवेदन दिन नपाउने व्यवस्था लागू गरेको छ। नयाँ नियमअनुसार उनीहरूले आफ्नै देश फर्केर अमेरिकी दूतावास वा कन्सुलेटमार्फत प्रक्रिया अघि बढाउनुपर्नेछ।
बिबिसीका अनुसार अमेरिकी नागरिकता तथा अध्यागमन सेवाले शुक्रबार सार्वजनिक गरेको नयाँ निर्देशिकामा विशेष अवस्थाबाहेक अमेरिकाभित्रबाट `स्टाटस एडजस्टमेन्ट´ गरी स्थायी बसोबास अनुमति (ग्रिन कार्ड) लिन नदिने उल्लेख गरिएको छ।
यो निर्णय ट्रम्प प्रशासनको कडा अध्यागमन नीतिको अर्को कदमका रूपमा हेरिएको छ। यसअघि विद्यार्थी भिसा, पर्यटक भिसा वा अस्थायी कामदारका रूपमा अमेरिका पुगेका व्यक्तिहरूले त्यहीँ बसेर ग्रिन कार्ड प्रक्रियामा सहभागी हुन पाउँथे। अब भने त्यो सुविधा हटाइएको छ।
नयाँ नीतिले विशेषगरी परिवार र रोजगार क्षेत्रमा असर पार्ने चिन्ता व्यक्त गरिएको छ। आलोचकहरूका अनुसार पुरानो व्यवस्थाले ग्रीन कार्ड प्रक्रियाका क्रममा परिवारलाई अलग हुनबाट जोगाएको थियो। तर अब आवेदन दिन देश फर्किएका कतिपय मानिसहरू पुनः अमेरिका प्रवेश गर्न नपाउने जोखिममा पर्न सक्छन्। अब अधिकांश अस्थायी भिसाधारकहरूले अमेरिकी विदेश मन्त्रालयअन्तर्गत विदेशस्थित दूतावास वा कन्सुलेटमार्फत मात्रै ग्रिन कार्ड प्रक्रिया गर्नुपर्ने स्पष्ट पारेको छ।
एजेन्सीका अनुसार यसले भिसा अस्वीकृत भएपछि अवैध रूपमा अमेरिका बसिरहने प्रवृत्ति घटाउनेछ र अध्यागमन प्रणालीलाई `पारदर्शी र प्रभावकारी´ बनाउनेछ। ग्रिन कार्ड प्राप्त गर्न लामो समय लाग्ने भएकाले अहिले पनि लाखौँ आप्रवासीहरू स्वीकृतिको प्रतीक्षामा छन्। अध्यागमन विज्ञहरूका अनुसार नयाँ नियमले हजारौँ परिवार र रोजगारदातालाई अन्योलमा पार्न सक्छ।
ट्रम्प प्रशासनले यसअघि पनि विभिन्न देशका नागरिकमाथि यात्रा प्रतिबन्ध तथा भिसा कडाइ लागू गरिसकेको छ। साथै, केही देशका आप्रवासी भिसा प्रक्रियामा रोक लगाउने निर्णय पनि यसअघि गरिसकिएको थियो।अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसाको अवधि समाप्त भएपछि पनि अमेरिका बसिरहेमा निष्कासन, भविष्यमा भिसा अस्वीकृति तथा १० वर्षसम्म पुनः प्रवेशमा प्रतिबन्ध लाग्न सक्ने कानुनी व्यवस्था रहेको छ।
