इरानले थाल्यो प्रत्याक्रमण– अमेरिकी सैन्य अड्डामाथि निशाना बनाएको आईआरजीसीको दाबी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले दक्षिणी इरानमा अमेरिकाले पुनः आक्रमण गरेपछि आफूहरूले अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ । आईआरजीसीले उक्त सैन्य अड्डा कहाँको हो भन्ने खुलाएको छैन । तर, अमेरिकी सैन्य अड्डा रहेको कुवेतले शत्रुतापूर्ण क्षेप्यास्त्र र ड्रोनको खतरा अवरोध गरिएको जनाएको छ । ती कहाँबाट प्रहार गरिएका थिए भन्ने भने स्पष्ट गरिएको छैन ।

यसअघि अमेरिकी सेनाले होर्मुज जलमार्ग क्षेत्रमा इरानी ड्रोनहरू खसालिएको तथा रणनीतिक बन्दरगाह शहर बन्दर अब्बासस्थित एक सैन्य स्थलमा आक्रमण गरिएको जनाएको थियो । पुनः शुरू भएका यी सैन्य गतिविधिले अमेरिका र इरानबीच कायम नाजुक युद्धविराम थप संकटमा परेको छ ।

पछिल्ला तीन दिनभित्र अमेरिकाले इरानमाथि दोस्रोपटक आक्रमण गरेको हो । अमेरिकाले ती कारबाही आत्मरक्षाका लागि गरिएको दाबी गरेको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार बन्दर अब्बासस्थित उक्त स्थल पाँचौं ड्रोन प्रहारको तयारीमा रहेकाले त्यसलाई निशाना बनाइएको हो । इरानी सञ्चारमाध्यमहरूले शहरको पूर्वी क्षेत्रमा विस्फोटको आवाज सुनिएको बताएका छन् ।

सेन्टकमले आफ्ना कारबाहीलाई सन्तुलित, पूर्ण रूपमा रक्षात्मक तथा युद्धविराम कायम राख्ने उद्देश्यको भनेर दाबी गरेको छ  ।अमेरिकी सेनाले होर्मुज वरिपरि खतरा उत्पन्न गर्ने चारवटा इरानी आत्मघाती ड्रोन पनि खसालिएको दाबी गरेको छ ।इरानले भने अमेरिकी आक्रमणलाई युद्धविरामको गम्भीर उल्लंघन भन्दै निन्दा गरेको छ । साथै, इरानी सरकारले कुनै पनि शत्रुतापूर्ण गतिविधिलाई जवाफविहीन नछाड्ने चेतावनी दिएको छ ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताप्रति अमेरिका अझै सन्तुष्ट नभएको बताएका छन् । यसअघि सोमबार अमेरिकाले दक्षिणी इरानमा गरेको अर्को आत्मरक्षात्मक आक्रमणमा इरानी मिसाइल स्थलहरू तथा होर्मुजमा बारुद बिछ्याउने प्रयास गरिरहेका डुंगाहरूलाई निशाना बनाएको पुष्टि गरेको थियो । द्वन्द्वका कारण हजारौं व्यापारिक ट्यांकर जहाज त्यहाँ रोकिएका छन् ।

सेन्टकमका अनुसार ती आक्रमणहरू इरानी सेनाबाट उत्पन्न खतरा विरुद्ध आफ्ना सैनिकको सुरक्षा गर्न गरिएको थियो ।अमेरिकाले पर्सियन गल्फ स्ट्रेट अथोरिटीमाथि पनि प्रतिबन्ध लगाएको छ । उक्त निकाय होर्मुज हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने इरानी संस्था हो ।

अमेरिकी अर्थ मन्त्रालयका अनुसार सो संस्थालाई भुक्तानी गर्ने जहाजहरू पनि प्रतिबन्धको जोखिममा पर्न सक्नेछन् । विश्वको झन्डै पाँचौं हिस्सा तरलीकृत प्राकृतिक ग्यास र तेल सामान्यतः यही जलमार्ग हुँदै ओसारपसार हुने गर्दछ । जलमार्ग प्रभावित हुँदा विश्वव्यापी इन्धन व्यापारमा असर परेको छ ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाएईले तेहरानले जलमार्ग सञ्चालन सेवाका लागि शुल्क उठाइरहेको र भविष्यमा पनि सो जलमार्गको व्यवस्थापन जारी राख्ने बताएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले यसलाई विश्वव्यापी समुद्री व्यापारमाथि इरानी सेनाको पछिल्लो दबाबमूलक प्रयास भन्दै इरान नगद अभावमा रहेको प्रमाण भएको टिप्पणी गरेका छन् ।

आईआरजीसीले मंगलबार एक अमेरिकी ड्रोन खसालिएको तथा इरानी आकाशमा प्रवेश गरेका एक लडाकु विमान र अर्को ड्रोनमाथि गोली चलाइएको दाबी पनि गरेको छ । यद्यपि, घटना कहिले भएको हो भन्ने खुलाइएको छैन ।होर्मुजमा तीन महिनादेखि जारी तनाव र युद्धका कारण समुद्री आवागमन प्रभावित भएको तथा विश्वव्यापी ऊर्जा मूल्य बढेकाले युद्ध अन्त्यका लागि लामो वार्ता जारी छ ।

बुधबार मन्त्रिपरिषद् बैठकका क्रममा राष्ट्रपति ट्रम्पले इरान अत्यन्त कमजोर अवस्थामा वार्ता गरिरहेको दाबी गर्दै नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्नो युद्ध रणनीतिमा असर नपार्ने बताए । उनले भने, ‘हामी फेरि फर्किएर काम सक्नुपर्ने हुन सक्छ, वा नपर्न पनि सक्छ ।’

उक्त बैठकमा ट्रम्पले खाडी क्षेत्रका राष्ट्रहरूलाई इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्न ‘अब्राहम सम्झौता’मा सहभागी हुन आग्रह पनि गरेका थिए । इजरायलले फेब्रुअरी २८ मा अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध शुरू गरेको थियो । साथै, इजरायल इरान समर्थित लेबनानस्थित हेजबुल्लाहसँग पनि युद्धरत छ ।

ट्रम्पले इरानले आफ्ना सर्त स्वीकार नगरे पुनः व्यापक बमबारी अभियान शुरू गर्ने चेतावनी दिएका छन् । गत साताको अन्त्यतिर ट्रम्पले इरानसँगको शान्ति सम्झौता प्रायः तय भइसकेको बताएका थिए । तर बुधबारको मन्त्रिपरिषद् बैठकसम्म आइपुग्दा उनले अमेरिका सन्तुष्ट नभएको बताएका हुन् ।

उनले तेहरान युद्ध अन्त्यका लागि सम्झौता गर्न गम्भीर रूपमा इच्छुक रहेको बताए पनि हालसम्म त्यसमा पुग्न नसकेको उल्लेख गरे । साथै, सम्झौता नभए पुनः आक्रमण गर्न अमेरिका तयार रहेको दोहोर्‍याए । इरानी सरकारी टेलिभिजनले होर्मुज जलमार्ग पुनः खोल्ने तथा क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्ने विषय समेटिएको भनिएको प्रारम्भिक सम्झौताको मस्यौदा सार्वजनिक गरेको दाबी गरेपछि ट्रम्पको प्रतिक्रिया आएको हो ।

तर ह्वाइट हाउसले उक्त दस्तावेजलाई पूर्ण रूपमा बनावटी भनेको छ । गत साताको अन्त्यतिर दुवै पक्षले सम्झौतामा प्रगति भएको संकेत दिएका थिए, जसले चाँडै घोषणा हुन सक्ने अड्कल बढाएको थियो ।तर त्यसलगत्तै तेहरानले सम्झौता तत्काल हुने अवस्थामा नरहेको स्पष्ट पारेको थियो भने ट्रम्पले आफ्ना वार्ताकारलाई हतार नगर्न निर्देशन दिएको बताएका थिए ।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, मलाई लाग्छ उनीहरूसँग अर्को विकल्प छैन ।’ उनले थपे, ‘इरान अत्यन्त इच्छुक छ, उनीहरू सम्झौता गर्न चाहन्छन् । तर अहिलेसम्म उनीहरू त्यसमा पुग्न सकेका छैनन् र हामी सन्तुष्ट छैनौं । अन्ततः या त हामी सन्तुष्ट हुनेछौं, होइन भने हामीले काम पूरा गर्नुपर्नेछ ।’बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *