सिन्धुलीको सुनकोसी गाउँपालिका–५ सित्खास्थित सुनकोसी नदीमा नुहाउने क्रममा आइतबार दिउँसो डुबेर दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनकोसी गाउँपालिका–४ घर भई हाल वडा नं. ३ बोहोरेटार बस्दै आएका दलबहादुर पुलामी मगरका ९ वर्षीय छोरा सफल पुलामी मगर र सोही ठाउँ बस्दै आएकी सरिता विकका १० वर्षीय छोरा युकेस विक हुन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक अजयकुमार कुशवाहाका अनुसार अपराह्न करिब ३ बजे स्थानीय गोठालाले नदीको छुट्टिएको सानो भँगालो किनारमा दुई बालक नुहाइरहेको देखेका थिए । त्यसको केही समयपछि एक जना बालक पानीमा डुबेको र अर्का एक जना बगेजस्तो देखिएपछि तत्काल प्रहरी चौकी सित्खा (रामेछाप) मा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट खटिएको सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले नदीमा डुबेर बेपत्ता भएका बालकको खोजतलास सुरु गरेका थिए । खोजतलासका क्रममा दुवै बालक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका मगरलाई नुहाएको स्थानभन्दा करिब १५० मिटर तल पूर्व नदी किनारमा र विकलाई ३० मिटर तल सुनकोसी नदीभित्र डुबेको अवस्थामा फेला पारिएको थियो । घटनास्थलमा बालकका दुई जोर सेतो चप्पलसमेत फेला परेको छ । शवलाई पोष्टमार्टमका लागि पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
