अन्तर्राष्ट्रिय मिश्रित मार्सल आर्ट ‘एमएमए’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालको गौरव बढाएका नेपाली फाइटर रविन्द्र ढाँटलाई मकाउमा रहेका नेपाली समुदाय तथा विभिन्न संघसंस्थाले भव्य सम्मान गरेका छन् ।
साढे ६ लाख रुपैयाँबढी आर्थिक सहयोग हस्तान्तरण
फिलिपिन्सका चर्चित फाइटरलाई पराजित गर्दै ‘यूएफसी छनोट’ प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेपछि उनको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिएको हो । हालै सम्पन्न प्रतिस्पर्धामा रविन्द्र ढाँटले फिलिपिन्सका किम्मबट अलिन्टोजोनलाई दोस्रो राउन्डमै ‘नकआउट’ गर्दै सानदार जित दर्ता गरेका थिए ।
प्रतिस्पर्धाको सुरुदेखि नै आक्रामक र आत्मविश्वासपूर्ण प्रदर्शन गरेका ढाँटले आफ्नो प्राविधिक क्षमता, शारीरिक तन्दुरुस्ती तथा रणनीतिक खेल प्रस्तुत गर्दै प्रतिद्वन्द्वीमाथि पूर्णनियन्त्रण कायम गरेका थिए । दोस्रो राउन्डमा दिएको शक्तिशाली प्रहारपछि अलिन्टोजोन ‘नकआउट’ भएपछि ढाँटले निर्णायक जित हात पारेका थिए । यो जितसँगै ढाँट ‘यूएफसी छनोट’ प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गर्न सफल भएका हुन् । विश्वभरका उत्कृष्ट फाइटरका सपना मानिने यूएफसीको यात्रामा यो सफलता नेपाली खेलकुद इतिहासका लागिसमेत महŒवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । ढाँटको सफलताले नेपालमा ‘एमएमए’ खेलप्रति आकर्षण बढाउनुका साथै अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीका क्षमता प्रमाणित भएको छ ।
रविन्द्र ढाँटको ऐतिहासिक सफलताको खुसी साट्न मकाउमा रहेका नेपाली समुदायले विशेष सम्मान कार्यक्रम आयोजना गरेका हुन् । ब्रदर हुड एसोसिएसन मकाउ, लालिगुराँस एसोसिएसन हङकङ तथा एनआरएनए मकाउको संयुक्त पहलमा आयोजित कार्यक्रममा ढाँटलाई सम्मानपत्र, खादा तथा शुभकामना प्रदान गरिएको छ ।
मकाउस्थित रेड हाउस क्लबमा आयोजित कार्यक्रममा विभिन्न देशबाट आएका नेपाली प्रतिनिधि, समाजसेवी, व्यवसायी, खेलप्रेमी तथा शुभेच्छुकको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रममा सहभागीले ढाँटको संघर्ष, मेहनत र अनुशासनको प्रशंसा गर्दै आफ्नो सफलतालाई सम्पूर्ण नेपाली समुदायको साझा उपलब्धि भएको बताए ।
कार्यक्रममा सहभागीले सीमित स्रोत–साधनका बाबजुद अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको झण्डा फहराउन सफल भएका खेलाडीलाई राज्य र समाज दुवै पक्षबाट थप सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे । उनीहरूले रविन्द्र ढाँटले नेपाली युवाका लागि प्रेरणाको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै उनको आगामी यात्रामा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धतासमेत जनाए ।
सम्मान कार्यक्रमकै अवसरमा विभिन्न संघसंस्था तथा नेपाली समुदायबाट संकलित आर्थिक सहयोग पनि हस्तान्तरण गरिएको छ । आयोजकका अनुसार कार्यक्रममार्फत करिब ६ लाख ५० हजार नेपाली रुपैयाँ संकलन भएको छ । सो रकम रविन्द्र ढाँटका म्यानेजर अञ्जना गुरुङलाई औपचारिकरूपमा हस्तान्तरण गरिएको हो ।
आयोजकले आर्थिक सहयोग आगामी प्रशिक्षण, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, यात्रा खर्च तथा खेल तयारीका लागि उपयोग हुने विश्वास व्यक्त गरेका छन् । विश्वस्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्न खेलाडीले ठूलो आर्थिक चुनौती सामना गर्नुपर्ने भएकाले नेपाली समुदायको यस्तो सहयोगले खेलाडीको मनोबल उच्च बनाउने उनीहरूको विश्वास छ । उनीहरूबाट विदेशमा रहेका नेपाली आफ्नो देशका प्रतिभाशाली खेलाडीको सफलतामा गर्व गर्नेमात्र नभई आवश्यक पर्दा आर्थिक तथा नैतिक सहयोग गर्न पनि सदैव तत्पर रहेको सन्देश दिइएको छ । उनीहरूले नेपाली खेलकुद विकासका लागि सरकारी निकाय, निजी क्षेत्र र गैरआवासीय नेपाली समुदायबीच सहकार्य आवश्यक रहेकोसमेत औंल्याएका छन् ।
रविन्द्र ढाँटले अनेक चुनौती र संघर्ष पार गर्दै सफलता हासिल गरेका छन् । सीमित अवसर र स्रोतबीच निरन्तर मेहनत गर्दै आएका उनी आज अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने प्रमुख फाइटरमध्ये एकका रूपमा स्थापित हुँदै गएका छन् । उनको पछिल्लो सफलताले नेपालमा ‘एमएमए’ खेलको भविष्यप्रति आशा जगाएको छ ।
खेलकुद क्षेत्रका जानकारका अनुसार ‘यूएफसी छनोट’ प्रतियोगिताको सेमिफाइनलमा पुगेको उपलब्धि सामान्य विषय होइन । विश्वभरका सयौं प्रतिभावान फाइटरबीच प्रतिस्पर्धा गर्दै यो चरणसम्म पुग्नु आफैंमा ठूलो उपलब्धि हो । यदि ढाँटले आगामी खेल पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिनसके भने विश्वकै प्रतिष्ठित ‘एमएमए’ मञ्च यूएफसीमा नेपालको प्रतिनिधित्व गर्ने सपना साकार हुनसक्ने विश्वास गरिएको छ ।
मकाउमा सम्पन्न सम्मान कार्यक्रमले एक खेलाडीको उपलब्धिको सम्मानमात्र गरेको छैन, यसले विदेशमा रहेका नेपाली ‘आफ्नो देशका प्रतिभा र सफलताप्रति कति संवेदनशील छन् ?’ भन्ने पनि देखाएको छ । खेलाडीलाई सम्मान र प्रोत्साहन गर्ने संस्कृतिले नयाँ पुस्तालाई खेल क्षेत्रमा आकर्षित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
रविन्द्र ढाँटको हालको सफलता नेपाली खेलकुदका लागि गौरवपूर्ण क्षण बनेको छ । उनको आगामी प्रतिस्पर्धाप्रति नेपाली खेलप्रेमी उत्साहित छन् भने देश तथा विदेशमा रहेका नेपालीले उनको सफलताको निरन्तरताका लागि शुभकामना व्यक्त गरिरहेका छन् ।
‘यूएफसी छनोट’ प्रतियोगिताको सेमिफाइनलतर्फ उन्मुख ढाँटको यात्रा अब झन् चुनौतीपूर्ण भए पनि उनको आत्मविश्वास, अनुभव र मेहनतले थप सफलता दिलाउने अपेक्षा गरिएको छ । नेपाली खेलकुद इतिहासमा नयाँ अध्याय लेख्ने लक्ष्यसहित अघि बढिरहेका ढाँटप्रति सम्पूर्ण नेपाली समुदायको विश्वास छ ।
