संयुक्त राज्य अमेरिका र इरान मध्यपूर्वमा फैलिएको र विश्व तेल बजारमा अवरोध पुर्याउने युद्धको अन्त्य गर्ने सम्झौताको नजिक देखिएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विश्वले केही राम्रो समाचार प्राप्त गर्न सक्ने बताएलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्ने सम्झौता भएको घोषणा गरेका छन् ।
ट्रम्पको घोषणा अघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले वाशिङ्गटनसँग ‘मेलमिलापको श्रङ्खला’ को सम्भावना रहेको तर यसको मतलब इरान र संयुक्त राज्य अमेरिकासँग महत्त्वपूर्ण मुद्दामा एक सम्झौतामा पुग्ने निश्चित भएको भन्ने अझै होइन । उनले सरकारी टेलिभिजनमा ३० देखि ६० दिनभित्र अन्तिम सम्झौता हुनुअघि इरानको ‘सबैभन्दा पहिले समझदारी पत्र, एक प्रकारकोे मस्यौदा तयार पार्ने मनसाय रहेको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँग साउदी अरब, संयुक्त अरब इमिरेट्स, कतार, इजिप्ट, जोर्डन र बहराइनका नेताहरूका साथै टर्की र पाकिस्तानका प्रतिनिधिहरूले शनिबार कुराकानी गरेका थिए । गत अप्रिलमा अमेरिका र इरानी प्रतिनिधिमण्डलबिच ऐतिहासिक साक्षात्कारमा मध्यस्थता गरेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले ‘चाँडै नै अर्को चरणको वार्ता’ आयोजना गर्ने आशा गरेको बताए । एएफपी
