इरान युद्धबाट प्रभावित २७ देशहरूले विश्व बैंकसँग आर्थिक सहयोग मागेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इरानमा युद्ध सुरु भएपछि हालसम्म २७ देशहरूले विश्व बैंकसँग आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।
ती देशहरूले इरानसँगको द्वन्द्वका कारण आफ्नो अर्थतन्त्रमा गम्भीर असर परेको बताएका छन् । रोयटर्सले उद्धृत गरेका दस्तावेजहरूमा न त ती देशहरूको नाम खुलाइएको छ, न त माग गरिएको रकमको स्पष्ट विवरण दिइएको छ । विश्व बैंकले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । रिपोर्ट अनुसार, २८ फेब्रुअरीमा इरान र अमेरिका–इजरायलबीच द्वन्द्व सुरु भएयता विश्वभर ऊर्जा बजारमा ठूलो अस्थिरता देखिएको छ ।
यसको असर आपूर्ति शृङ्खलामा परेको छ र विकासशील देशहरूमा आवश्यक खाद्य (फर्टिलाइजर) को ढुवानीमा पनि अवरोध आएको छ । केन्या र इराकका अधिकारीहरूले पुष्टि गरेका छन् कि उनीहरू युद्धको असर कम गर्न विश्व बैंकसँग आपतकालीन आर्थिक सहायता मागिरहेका छन् । यो युद्धका कारण केन्यामा इन्धनको मूल्य तीव्र रूपमा बढेको छ भने इराकको तेल आम्दानीमा पनि ठूलो गिरावट आएको छ । यी २७ देशहरू विश्व बैंकको आपतकालीन वित्तीय सहायता प्रणाली पहुँच पाउने १०१ देशमध्येका हुन् ।
