सगरमाथामा नयाँ कीर्तिमान

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

नेपालको पर्वतारोहण इतिहासमा हिजाे जेठ ३ गते आइतबारका दिन दुई वटा ऐतिहासिक कीर्तिमान कायम भएका छन् । ‘एभरेस्ट म्यान’ उपनामले परिचित कामिरिता शेर्पा र ‘माउन्टेन क्विन’ उपनामले परिचित लाक्पा शेर्पाले सगरमाथाको सफलतापूर्वक आरोहण गर्दै विश्वविख्यात आरोहीका रूपमा आफ्नो अदम्य साहस, अनुभव र समर्पणमार्फत पुनः विश्वसामु नयाँ कीर्तिमान बनाएका  छन् ।

पर्यटन विभागका अनुसार कामिरिताले (पुरुषतर्फ) ३२ औँ पटक र लाक्पाले (महिलातर्फ) ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका हुन् ।

विभागका निर्देशक हिमाल गौतमले भने , “सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो । आज कायम भएका दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट, सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ । आरोहीको साहसिक कार्यले अन्तर्राष्ट्रिय जगत्लाई सुरक्षित र साहसिक कार्यमा लाग्न प्रेरित मात्रै गरेको छैन, लैङ्गिक हिसाबले समेत नेपाली महिला साहसिक र चुनौतीपूर्ण कामका लागि कोहीभन्दा कम छैनन् भन्ने सन्देश प्रवाह गर्न बल पुर्याएको छ ।”

दुवै जना प्रख्यात आरोहीको सफलताले नेपालको पर्वतारोहण इतिहासमा एउटा गौरवपूर्ण अध्याय थपेको बताउँदै उनले सङ्ख्यात्मक रूपमा पुरुषभन्दा महिला आरोही कम भए पनि आरोहणतर्फ बढ्दै गएको महिलाको उत्साहजनक सहभागिता, सक्रियता र आत्मविश्वासले पर्वतीय पर्यटनले नयाँ उचाइ लिएको छ  ।

पर्यटन विभागका अनुसार कामिरिताले आइतबार बिहान १०:१२ बजे र लाक्पाले ९:३० बजे सर्वोच्च शिखरको चुचुरोमा पाइला टेकेका हुन । सन् १९७० जनवरी १७ मा सोलुखुम्बुको थामेमा जन्मिएका कामिरिताले सन् १९९४ मा पहिलो पटक सगरमाथा चढेका  थिए  । पछिल्ला हरेक वर्ष जस्तो चुचुरोमा पुग्दै आएका उनले गतवर्षको यही यामको आरोहण अन्तर्गत २०८२ जेठ १३ गते ३१ औँ पटक सर्वोच्च शिखरमा पुगेका थिए  । त्यसअघि विसं २०८१ मा दुई पटक अर्थात् २९ औँ र ३० औँ सफल आरोहण गरेका थिए ।

त्यस्तै सन् १९७३ मा सङ्खुवासभा मकालु–२ मा जन्मिएकी लाक्पाको कीर्तिमानले नेपालको पर्वतारोहण इतिहासमा नयाँ इँटा थपेको छ । यसअघि सन् २०२२ मा १० औँ पटक सगरमाथा आरोहण गरेकी उनले यस वर्ष आफ्नै कीर्तिमान तोडेकि छिन् ।

४२५ महिलाले गरे साहस प्रदर्शन

सगरमाथामा पहिलो पटक मानव पाइला टेकिएको ७३ वर्षको अवधिमा ७०४ महिला आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । विभागका ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२५’ अनुसार पछिल्लो एक दशकमा मात्रै ४२५ महिलाले सगरमाथामा आफ्नो साहस प्रदर्शन गरिसकेका छन् ।

सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो मानवपाइला सगरमाथामा टेके पनि महिला आरोहीको पाइला पुग्न भने अर्को २२ वर्ष पर्खनु परेको थियो । सन् १९७५ मे १६ मा जापानी आरोही जुन्को ताबेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोही बनेकोमा १८ वर्षपछि सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखरमा पुगेर पासाङ ल्हामु शेर्पा पहिलो नेपाली महिला आरोही बनेकी थिइन । तर दुर्भाग्यवश शिखरबाट फर्किने क्रममा उनको निधन भएको थियो ।

विभागको तथ्याङ्क अनुसार सन् २०१६ मा ४४ जना महिलाले सगरमाथा आरोहण पूरा गरेका थिए । सन् २०१५ मा भूकम्पका कारण एक जनाले पनि सगरमाथा चढेनन् । आरोहण याम नै प्रभावित हुन पुगेको उक्त वर्ष सगरमाथा क्षेत्रमा गएको हिमपहिरोमा २२ जनाले ज्यान गुमाएका थिए । जुन सगरमाथा इतिहासकै एक दुःखद घटना मानिन्छ ।

त्यस्तै गरी सन् २०१६ मा ४४ जना, सन् २०१७ मा ३३ जना, सन् २०१८ मा ५१ जना, सन् २०१९ मा ६५ जना महिला आरोहीले सगरमाथा शिखर चुमेका थिए । सन् २०२० मा विश्वभर फैलिएको कोरोना महामारीका कारण आरोहण बन्द हुँदा एक जनाले पनि सगरमाथा चढेनन् । सन् २०२१ मा ४४ जना, २०२२ मा ६९ जना, २०२३ मा ६६ जना र २०२४ मा ६३ जना महिलाले सगरमाथामा पाइला टेकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *