विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो ।

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा सङ्क्रमणको शङ्का गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन । यस रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने बताइएको छ । स्वास्थ्य सहायता संस्थाहरूले ठुलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरिरहेका छन् । यो प्रकोप कङ्गोको इटुरी क्षेत्रमा सुरु भएको हो, जुन युगान्डा र दक्षिण सुडानसँग सीमा जोडिएको छ । प्रारम्भिक बिरामी एक स्वास्थ्यकर्मी भएको बताइएको छ । स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेसनको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझ फैलिने खतरा बढाएको छ ।

डब्लुएचओले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले ‘सङ्क्रमित व्यक्तिहरूको वास्तविक सङ्ख्या र प्रकोप फैलिएको भूभागबारे व्यापक अनिश्चितता रहेको’ बताए  ।

इबोलाको अहिलेको स्ट्रेन बुन्डिबुग्यो नामक भाइरसबाट निम्तिएको भन्दै डब्लुएचओले त्यसको औषधी वा खोप नरहेको उल्लेख गरेको छ । डब्लुएचओका अनुसार प्रयोगशालाबाट प्रमाणित भएका अहिले आठ जना संक्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया, सुनखानी रहेका मोङ्गावालु र वाम्पारा नगरसहितका क्षेत्रमा अरू शङ्कास्पद बिरामी तथा मृत्युका घटना पाइएका छन् ।

छिमेकी देशमा पनि पुष्टि

साे  भाइरस प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाहिर फैलिइसकेको उल्लेख गर्दै डब्लुएचओले छिमेकी देश युगान्डामा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ । बिहीबार मृत्यु भएका एक ५९ वर्षीय पुरुषमा संक्रमण पुष्टि गरिएको युगान्डाका अधिकारीहरूले बताएका छन् । मानिसहरूको आउजाउ तथा व्यापार व्यवसायका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोका छिमेकी देशहरू थप संक्रमण फैलिने उच्च जोखिममा रहेका ठानिएको बेलायती समाचार संस्था बिबिसीले जनाएको छ ।

नेपालमा उच्च सतर्कता  

नेपालमा कङ्गोबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल सरकारले पनि विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढाएको जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको जानकारी दिदै भने  “नेपालीको कङ्गोबाट आवतजावत भइरहेको हुन्छ,यो अवस्थामा नेपालले सतर्कता अपनाएको छ ।”

त्रि.अ. विमानस्थलसहित मुख्य नाकाहरूमा स्वास्थ्य निगरानीलाई थपप्रभावकारी बनाइएको र स्वास्थ्यकर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको उनले जानकारी दिए । अहिले तत्काल डराउनुपर्ने अवस्था नरहे पनि सतर्कता र तयारीलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको स्वास्थ्य अवस्थामाथि विशेष निगरानी गरिएको जानकारी दिदै भने  ज्वरो, अत्यधिक कमजोरी, रक्तस्राव वा अन्य शङ्कास्पद लक्षण देखिएका यात्रुलाई तत्काल स्वास्थ्य परीक्षणको दायरामा ल्याउने व्यवस्था गरिएको छ । उनले इबोला अत्यन्तै घातक रोग भए पनि यसको सङ्क्रमण सामान्य रूपमा हावाबाट फैलिने नभई संक्रमित व्यक्तिको रगत, पसिना, र्याल वा अन्य शारीरिक तरल पदार्थसँग प्रत्यक्ष सम्पर्क हुँदा संक्रमण सर्ने भएकाले जनस्वास्थ्यका आधारभूत सावधानीहरू अत्यन्त प्रभावकारी हुने बताए  ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा तत्काल ठुलो जोखिम नरहे पनि विश्वव्यापी आवतजावतका कारण कुनै पनि देश पूर्ण रूपमा सुरक्षित रहन नसक्ने बताउदै भने सीमित स्वास्थ्य स्रोत भएका मुलुकहरूमा सङ्क्रमण प्रवेश गरे नियन्त्रण चुनौतीपूर्ण हुन सक्ने भएकाले प्रारम्भिक पहिचान र निगरानी प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता छ ।

इबोला भाइरस पहिलो पटक सन् १९७६ मा हालको प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पहिचान गरिएको थियो । इबोला सङ्क्रमित व्यक्तिको रगत, र्याल , पसिना वा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट फैलिने गर्छ । संक्रमण गम्भीर बन्दै जाँदा शरीरमा आन्तरिक रक्तस्राव, अङ्गहरूले काम गर्न छोड्ने अवस्था तथा बहुअङ्ग विफलता देखिन सक्छ ।

डा. पुनका अनुसार सुरुवाती चरणमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, अत्यधिक थकान हुने र घाँटी दुख्ने लक्षण देखिने गर्छन् । पछि बान्ता, पखाला, शरीरमा डाबर आउने तथा आन्तरिक र बाह्य रक्तस्राव हुन सक्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार इबोलाको औसत मृत्युदर करिब ५० प्रतिशतसम्म रहने गरेको छ ।

यसैबिच पछिल्लो समय विश्वका विभिन्न मुलुकमा हान्टा भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले हान्टा भाइरस तत्काल नेपाल आउने सम्भावना नरहेपनि सतर्कता अपनाएको जानकारीदिए ।

सरुवारोग विशेषज्ञ डा. पुनका अनुसार हान्टा भाइरस नयाँ रोग नभई विगतदेखि नै विभिन्न देशमा समय समयमा देखिँदै आएको दुर्लभ भाइरसजन्य संक्रमण हो । हान्टा भाइरस समूह अन्तर्गत पर्ने एन्डिज भाइरस विशेष गरी संक्रमित मुसाको पिसाब, दिसा, र्याल वा त्यसबाट दूषित भएको वातावरणको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्छ ।

उनले सङ्क्रमित मुसाले छोएका वस्तु, धुलो वा फोहोर सफा गर्ने क्रममा सावधानी नअपनाउँदा संक्रमणको जोखिम बढ्न सक्ने बताए । हान्टा भाइरसका प्रारम्भिक लक्षणमा ज्वरो आउने, शरीर गल्ने, रिँगटा लाग्ने, मांसपेशी दुख्ने, पखाला लाग्ने, वाकवाकी वा बान्ता हुने, पेट दुख्ने तथा रक्तचाप घट्ने जस्ता समस्या देखिने गर्छन् । रोग जटिल बन्दै जाँदा खोकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, छाती कस्सिएको अनुभव हुने, फोक्सो तथा मिर्गौलाको कार्यक्षमतामा असर पुग्ने अवस्थासमेत आउन सक्ने उनकाे भनाइ छ  ।

डा. पुनले नेपालमा हाल जोखिम कम भए पनि अन्तर्राष्ट्रिय आवतजावतका कारण भविष्यमा संक्रमण भित्रिन सक्ने सम्भावना पूर्ण रूपमा नकार्न नसकिने बताउदै  रोग निगरानी प्रणाली बलियो बनाउन, परीक्षणको दायरा विस्तार गर्न तथा सम्भावित जोखिमको समयमै पहिचान गर्न सरकारलाई सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *