पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ।
सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ। पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ।
बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाको मृत्यु भएको छ। उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकाेप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन्।
सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ। स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ र ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन्।
पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ। सरकारद्वारा शनिबारलाई शोकको दिन घोषणा गरिएको छ भने राष्ट्रिय झण्डा आधा झुकाइएकाे छ र मृतकहरूलाई राज्य सम्मानसहित अन्त्येष्टि गरिदैछ।
जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन्। यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ।
