एर्लिङ हाल्यान्डले खेलको अन्तिम समयमा दुई गोल गरेपछि नर्वेले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ भने ब्राजिलको उपाधि यात्रामा पूर्णविराम लागेको छ। पाँच पटकको विश्वविजेता ब्राजिल सन् १९९० यता पहिलाे पटक प्रारम्भिक चरणबाट बाहिरिएको हो ।
नर्वे पहिलो पटक विश्वकप क्वार्टरफाइनलमा हाल्यान्ड र नाइल्यान्ड नायक
नेपाली समयअनुसार आज सोमबार बिहान मेटलाइफ स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नर्वेका गोलरक्षक ओरलान नाइल्यान्ड नायक बने। उनले पहिलो हाफमा ब्रुनो गुइमाराइसले प्रहार गरेको पेनाल्टी बचाउँदै ब्राजिललाई अग्रता लिनबाट रोकेका थिए।
खेलको ७९औं मिनेटमा हाल्यान्डले हेडरमार्फत नर्वेलाई अग्रता दिलाए। त्यसपछि ९०औं मिनेटमा उनले अर्को गोल थप्दै नर्वेको जित सुनिश्चित गरे। अतिरिक्त समयको १०औं मिनेटमा नेयमारले पेनाल्टीमार्फत ब्राजिलका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।

दुई गोलसँगै हाल्यान्ड प्रतियोगितामा सात गोल पुर्याउँदै अर्जेन्टिनी कप्तान लियोन मेस्सी बराबरीमा पुगेका छन्। अब नर्वेले जुलाई ११ मा मियामीमा हुने क्वार्टरफाइनलमा आयोजक मेक्सिको वा इङ्ग्ल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।
ब्राजिलका लागि भने यो हार निराशाजनक रह्यो। २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी अन्त्य गर्ने उद्देश्यसहित नियुक्त गरिएका कार्लो एनसिलोटीको नेतृत्वमा पनि टोली सफल हुन सकेन। ब्राजिल लगातार छैटौं पटक विश्वकपमा युरोपेली टोलीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
खेलको सुरुवातमै प्याट्रिक बर्गले नर्वेका लागि गोल गरे पनि अफसाइडका कारण मान्यता पाएन। त्यसपछि ब्राजिलले पेनाल्टीको अवसर पाए पनि गुइमाराइसको प्रहार नाइल्यान्डले उत्कृष्ट बचाउ गरे।
पहिलो हाफभर नाइल्यान्डले गाब्रियल मार्टिनेली, भिनिसियस जुनियर र गुइमाराइसका खतरनाक प्रहार रोक्दै नर्वेलाई खेलमा कायम राखे। दोस्रो हाफमा पनि उनले लगातार उत्कृष्ट प्रदर्शन जारी राखे।
ब्राजिलले ६७औं मिनेटमा नेयमारलाई मैदानमा उतारेपछि समर्थकहरू उत्साहित बनेका थिए। तर निर्णायक क्षणमा हाल्यान्ड चम्किए। आन्द्रियास शेल्डेरुपको क्रसमा उनले शक्तिशाली हेडर गर्दै गोलको खाता खोले। त्यसपछि खेलको निर्धारित समय सकिनुअघि बक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत गर्दै नर्वेलाई २–० को सुरक्षित अग्रता दिलाए।
अन्तिम समयमा कासेमिरोमाथि भएको फाउलपछि प्राप्त पेनाल्टीमा नेयमारले गोल गरे पनि ब्राजिलका लागि त्यो केवल सान्त्वना गोलमा सीमित रह्यो।
