सगरमाथाको ७,९०६ मिटरसम्म खुल्यो बाटो, आरोही शिखर प्रस्थानको प्रतीक्षामा

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ने क्रमसँगै आरोहीहरूमा उत्साह थपिएको छ । पर्यटन विभागका अनुसार शुक्रबारसम्म सगरमाथाको ७,९०६ मिटर उचाइसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने काम) सम्पन्न भई बाटो सुचारु भएको हो ।

अहिले सगरमाथाको आधार शिविर र माथिल्ला क्याम्पहरूमा सयौंको संख्यामा रहेका आरोहीहरू मौसम अनुकूल हुनासाथ शिखर प्रस्थान गर्ने अन्तिम प्रतीक्षामा रहेका छन् । पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्र ५० वटा टोलीका ४९२ जना आरोहीले अनुमति लिएका छन् ।

विभागको तथ्याङ्क अनुसार यस सिजनमा हिमाल आरोहणबाट मात्रै कुल १ अर्ब २४ करोड ४१ लाख २१ हजार ९५४ रुपैयाँ रोयल्टी संकलन भएको छ । यसमध्ये सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड ४० लाख ९५ हजार ४७५ रुपैयाँ राजस्व उठेको छ । यस वर्ष सगरमाथा चढ्न ७९ देशका नागरिकहरू नेपाल आएका छन् । जसमा चीनबाट सबैभन्दा बढी १०९ जना र संयुक्त राज्य अमेरिकाबाट ७६ जना आरोही सहभागी छन् ।

लैंगिक हिसाबले सगरमाथामा १०५ जना महिला र ३८७ जना पुरुष आरोहीले अनुमति लिएका छन् । सगरमाथा बाहेक ल्होत्सेमा १२०, आमा दब्लममा १११ र मकालु १ मा ७२ जना आरोहीले अनुमति लिएका छन् । समग्रमा यस सिजनमा ३० वटा हिमालका लागि १ हजार १३४ जना आरोहीले अनुमति लिएको विभागले जनाएको छ । बाटो खुलेपछि अबको केही दिनमा अनुकूल मौसमको संकेत पाउना साथ आरोहीहरूले दक्षिण मोहडाबाट शिखरमा पाइला टेक्न सुरु गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *