मुग्लिन-नारायणघाट सडक: यात्रा सहज बनाउन यी हुन् वैकल्पिक मार्ग, हेर्नुहोस् सूची

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

मुग्लिन-नारायणघाट सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेर सडक कम्तीमा तीन दिनका लागि अवरुद्ध हुने भएपछि सडक विभाग र ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। पहिरो पन्छाउन समय लाग्ने भएकाले यात्रामा असहजता नहोस् भनी विभिन्न गन्तव्यका लागि फरक-फरक वैकल्पिक मार्गहरू तोकिएका छन्।

काठमाडौं भित्रिने तथा बाहिरिने सवारी साधनका लागि विभिन्न मार्ग तोकिएको छ। धादिङको नौबिसेबाट त्रिभुवन राजपथ हुँदै मकवानपुरको हेटौंडा पुग्न सकिनेछ। यसैगरी, हेटौंडाबाट काठमाडौं आउने हाइस, कार, स्कर्पियो र सुमो जस्ता साना गाडीहरूले भैसे, भीमफेदी, कुलेखानी, सिस्नेरी र दक्षिणकालीको बाटो प्रयोग गर्न सक्नेछन्।

ठूला सवारी साधनका लागि भने कान्ति लोकपथलाई विकल्पको रुपमा प्रस्तुत गरिएको छ। जुन हेटौंडा, ठिंगन, भेडाडाँडा हुँदै ललितपुरको सातदोबाटोबाट उपत्यका प्रवेश गर्नेछ। पोखरा जाने यात्रुहरूका लागि भने बुटवल हुँदै जाने बाटो प्रयोग गर्न विभागले सुझाएको छ। यो मार्ग ठूला तथा साना दुवै सवारीका लागि खुला छ।

त्यसैगरी, चितवनको गैंडाकोटबाट कालिगण्डकी करिडोरको बाटो हुँदै साना गाडीहरू पाल्पा, रामपुर, भिमाद र तनहुँतर्फ जान सक्नेछन्। चितवनकै जुटपानी, शक्तिखोर र मायाटार हुँदै धादिङको मलेखु निस्कने अर्को वैकल्पिक बाटो पनि साना गाडीका लागि मात्र सञ्चालनमा रहेको छ।विभागले पहिरो पन्छाउन समय लाग्ने भएकाले धैर्य गर्न र तोकिएका वैकल्पिक मार्गहरूको मात्र प्रयोग गरी यात्रालाई सहज बनाउन सबै चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *