किराँतीको उद्गम स्थलमा मिनी ग्रेटवाल निर्माण

अर्थ मनराेञ्जन मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

ऐतिहासिक पर्यटकीय क्षेत्र अर्थात् किरातीको आदिम उद्गमस्थल तुवाचुङ जायजुङ डाँडामा पदमार्ग निर्माण गरिएको छ। ऐतिहासिकस्थल तुवाचुङ डाँडामा मिनी ग्रेटवाल नाम राखेर पदमार्ग निर्माण पश्चात उक्त क्षेत्र थप आकर्षित भएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको तुवाचुङ जायजुङ डाँडामा कंक्रिट प्रयोग नगरी चुनासुकीको वाल निर्माण गरेर सात सय ३० मिटर लामो मिनी ग्रेटवाल निर्माण गरिएको हो। किरात राई समुदायको सभ्यताको उद्गम थलो तुवाचुङ एउटा ऐतिहासिक ठाउँ अहिले सुन्दर भएको छ। तोंयामा र खियामाले तान बुनेको यो ऐतिहासिक ठाउँमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम (तान) देख्न सकिन्छ।

मुन्दुमी मिथकअनुसार, तुवाचुङमा तोंयामा र खियामाले कपडा बुन्थे। उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन्। ऐतिहासिक पवित्र मातृथलोमा उनीहरूले कपासको धागोबाट तान बुनेका थिए। किराती आदिम कोकु (हजुरआमा) तोंयामा र खियामाले यहींबाट खेती गर्न थालेका हुन्। उनीहरूले यहींबाट कपास खेती थाली कपडा बुनेर लगाउन सुरु गरेका थिए।

समुन्द्र सतहदेखि १८ सय मिटर उचाइमा रहेको तुवाचुङ भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ। यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य लोभलाग्दो देखिन्छ। आकाश खुलेका दिन उत्तरतिर हिमाल टलक्क चाँदी झै टल्किरहेको देखिन्छ। हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोक गर्न सकिने यस ऐतिहासिक ठाउँलाई अहिले मिनी ग्रेटवालले थप आकर्षक बनाएको छ। तुवाचुङमा किराती आदिम पुर्खा तोंयामा, खियामा र खोक्चिलिपाको प्रतिमा यस अघिनै प्रतिस्थापन गरिएको छ।

तुवाचुङमा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, माङिखम घर निर्माण लगायतको कामका लागि संयुक्त साँढे ५ करोडको ठेक्का लागेको थियो। हाल मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ। सोही संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङमा पार्किङसमेत निर्माण गरिरहेको छ।

७ सय ३० मिटर लामो तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर वाल निर्माण गरिएको छ। उकालो र उरालो भूभागमा सोही सामग्री प्रयोग गरेर सिढी निर्माण गरिएको छ। समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ। पदमार्ग दुई मिटरको चौडाई रहेको पर्खाल निर्माण कम्पनीले जनाएको छ।

तुवाचुङमा उधौली र उभौलीको अवसरमा बृहतरुपमा साकेला नाँच्ने गरिएको छ। भिरालो जमिन हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम भएकाले ढुङ्गा लगाएर वाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताइन्। ऐतिहासिक स्थान भएकाले मिनी ग्रेटवालमा कंक्रिट प्रयोग नगरिएको उनको भनाइ छ। ऐतिहासिक स्थललाई थप व्यवस्थित र आकर्षित बनाएर पर्यटक भित्र्याउने योजनासहित मिनी ग्रेटवालको अवधारणा अघि सारिएको मेयर राईले जानकारि दिइन ।

आगामी दिनमा तोयामा र खियामाले तान बुन्दै गरेको स्थानलाई भौतिकिकरण गर्ने, तान बुन्दै गरेको प्रतिमा राख्ने, पर्यटकको लागि चिया कफी खाने पार्क घर निर्माण गर्ने योजना नगरपालिकाको छ। क्रमश उक्त क्षेत्रमा किराँतीको भान्सा सबै पाउने गरी व्यवस्थित बनाइने योजनासमेत नगरपालिकाको रहेको मेयर राईकाे भनाइछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *