अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आज वासिङ्टनमा भेट्दै छन् । रुसी राष्ट्रपति पुटिनसँगको वार्ता विफल भएपछि निम्तो पाएका जेलेन्स्की सोमबार वासिङ्टन जान लागेका हुन् ।
फेब्रुअरी २०२२ देखि जारी रुस युक्रेन युद्धविराम गरेर शान्ति सम्झौता गर्ने भनिएपछि यो भेटलाई थप रोचकताका साथ हेरिएको छ । गत १५ अगस्टमा अलास्कामा भएको ट्रम्प-पुटिनबीचको भेटमा युद्धविरामबारे कुनै सम्झौता नभएपछि ट्रम्पले जेलेन्स्कीलाई निम्तो दिएका थिए ।
जेलेन्स्कीसँगै अन्य युरोपेली नेताहरू पनि अमेरिका जाने कुराले यो भेट निष्कर्षमुखी हुनेमा विश्वास गरिएको छ । यसो त ट्रम्पका विशेष दूत विटक्फले सिएनएनसँगकै संवादका क्रममा सोमबारको भेट ‘प्रोडक्टिप’ हुने भन्दै आश्वासन दिएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारसंस्था बीबीसीका अनुसार चार देशका प्रधानमन्त्रीसहित आधा दर्जनभन्दा बढी युरोपेली नेताहरू पनि ह्वाइट हाउसमा जाने भएका छन् । बेलायती प्रधानमन्त्री केर स्टार्मर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सका प्रधानमन्त्री इमानुयल मार्कोन र फिनल्यान्डका प्रधानमन्त्री एलेक्जेन्डर स्टब मिटिङमा सहभागी हुने छन् ।
उनीहरूसँगै जर्मनका चान्सलर फ्रेडरिक मेर्ज, नेटोका महिसचिव मार्क रुटे र युरोपेली कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयन पनि मिटिङमा सहभागी हुने बीबीसीले जनाएको छ ।
सहमत हाेलान ?
अलास्काको भेटमा पुटिनले आफ्ना अडानहरू त्यागेका छैनन् । पुटिनले युद्ध अन्त्यका लागि कब्जामा रहेका क्राइमिया र डोनबास लगायत अन्य युक्रेनी भूभाग रूसको हुनुपर्ने माग ट्रम्पसँग राखेका थिए । तर त्यो जेलेनेस्कीले माग स्वीकार्य नहुने बताइसकेका छन् ।
त्यस्तै, पुटिनले अलास्का वार्तामा युक्रेन नेटोको सदस्य राष्ट्र हुन नपाउने सर्त पनि राखेका थिए । तर सोमबारको भेटमा आधा दर्जनभन्दा युरोपेली नेताहरू जाने कुराले पुटिन त्यति खुसी देखिएका छैनन् ।
बीबीसीका अनुसार युरोपेली नेताहरू ह्वाइटहाउस जाने खबर पाएसँगै पुटिनले आफ्नो पक्षका राष्ट्रहरूसँग फोन वार्ता गरेका छन् । पुटिनले बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्को र कजाकिस्तानका राष्ट्रपति कास्यम-जोमार्टा टोकाएभासँग कुराकानी गरेका थिए । कुराकानीमा उनले अलास्कामा भएको भेटबारे पनि ब्रिफिङ गरेका थिए ।
यता जेलेन्स्की पनि युरोपेली अधिकारीहरूसँग भर्चुअल वार्तामा बसेका छन् । यस वार्तामा युरोपका अन्य अधिकारीसँगै जापान र अस्ट्रेलियाका प्रतिनिधि पनि सहभागी रहेको बीबीसीले लेखेको छ ।
शान्ति वार्ता गर्नको लागि पुटिनले आफ्नो अडान छाड्ने देखिँदैन । ट्रम्पले जेलेन्स्कीलाई फकाउन सके शान्ति सम्झौता हुने सम्भावना देखिन्छ । त्यस्तै, युरोपेली प्रतिनिधिहरू पनि वार्तामा सहभागी हुने भएका कारण पनि शान्ति सम्झौता हुने अपेक्षा राखिएको छ ।–एजेन्सीहरू
