शेखरको आरोप: जहाँ जग्गा त्यहाँ एमाले, राजा वीरेन्द्रको जग्गा पनि छाडेनन्

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जहाँ खाली जग्गा देख्यो त्यहाँ नेकपा एमालेका नेता कार्यकर्ताको आँखा गइहाल्ने भन्दै टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भूमि विधेयकमाथि टिप्पणी गर्दै कोइरालाले यस्तो आरोप लगाएका हुन्।

‘अहिले भूमि सम्बन्धी विधेयक छ । एमाले त जहाँ खालि जग्गा देख्छ त्यहाँ एमालेको आँखा गइहाल्दो रहेछ । जहाँ पनि तपाईँ हेर्नुस्,’ नेता कोइरालाले भने, ‘यो गोकर्ण रिसाेर्ट, राजा वीरेन्द्रको सम्पत्तिमा एमालेका आँखाहरू हेर्नुस्।’

जहाँको खाली जग्गा हेरे पनि एमालेकै कब्जामा देखिने उनले बताए। उनले भने, ‘लिची बारी पोखराको हेर्नुस्, गिरीबन्धु टि इस्टेट हेर्नुस् । जताततै एमालेको मात्रै सुनिन्छ।’

एक जना तत्कालीन संघीय मामिला मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेको बताउँदै नेता कोइरालाले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले भने राजीनामा नदिएर बसिरहेको बताए। ‘भूमि सुधार मन्त्री अहिले पनि जबरजस्ती बसिरहनुभएको छ। जबकि कास्की जिल्लाको एमाले कमिटीले पूरैले भूमि सुधार मन्त्रीले पनि राजीनामा दिनुपर्छ भनेको छ,’ कोइरालाले भने।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलक्षित गरेर पनि कोइरालाले थप अभिव्यक्ति दिए। उनले भने, ‘बिचौलिया एक जना हुनुहुँदो रहेछ । रेसम चौधरीजीको पार्टीको । सांसद पनि बिचौलिया भइसकेपछि त के अवस्था हुन्छ देशको ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *