पोखराबाट सिन्धुली फर्कियो हायू परिवार

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

पोखरामा मजदुरी गरी जीवन चलाउने उद्देश्य लिएर साउन ११ गते आएको हायू परिवार सोमबार सिन्धुली फर्किएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठको पहलमा उर्मिला हायूको १९ सदस्यीय परिवार दिउँसो साढे ३ बजे गाउँ फर्किएको हो ।

गएको साउन ९ गते राति घरका पशुसमेत त्यतिकै छाडी सम्पर्कविहीन बनेको हायू परिवार ११ गते पोखरामा फेला परेको थियो । सोमबार बिहान पोखरा आइपुगेका  वडाध्यक्ष श्रेष्ठ उनिहरूलाई लिएर गाउँ फर्किएका छन्  । वडाध्यक्ष श्रेष्ठले हायू परिवारलाई अहिलेलाई बस्न आफ्नै घर दिने निर्णय गरेका छन्  ।

“उहाँहरू आफ्नो घरमा जाँदैनौं भन्नुभएको छ । अहिले मेरो घरमा लगेर राख्छु,” अध्यक्ष श्रेष्ठले भने , “पछि स्थायी आवासको प्रबन्ध गरिदिन्छौँ । उहाँहरुको पूरै परिवारलाई लिएर हामी जाँदै छौँ ।” गोलन्जोर गाउँपालिका वडा नम्बर ६ को बिखर कटेरीमा एकलाषमा घर भएको हायू परिवार अब सोही वडाको सुङ्गुरेमा रहेको वडाध्यक्ष श्रेष्ठको घरमा बस्ने छ ।

तीन वर्षअघि श्रीमानकाे आकस्मिक मृत्यु भएपछि परिवारको दायित्व सम्हालेकि उर्मिला हायूले अन्तिमसम्मै आफ्नो घरमा नजाने अडान राखेकि छन्  । जनप्रतिनिधिहरूले हायू परिवारलाई सुरक्षित ठाउँमा आवासको प्रबन्ध गरिदिने र ऋण तिरिदिने प्रतिबद्धता जनाएपछि यो परिवार गाउँ फर्किएको हो ।

यसअघि बुधबार बिहान हायू परियारलाई सम्झाएर गाउँ फर्काउन पोखरा आइपुगेको टोली त्यतिकै फर्केको थियो । परिवारका सदस्य बारम्बार बिरामी परेको भन्दै घर छाडेको उर्मिलाले बताएकि छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *