थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजारकाे हो, त्यहा आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन् ।
घटनाको कारण व्यक्तिगत विवाद रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार आक्रमणकारी पहिले सोही बजारमा कार्यरत थिए र एक सुरक्षाकर्मीप्रति लामो समयदेखि आक्रोश पालेर राखेका थिए ।
“उक्त जानकारी आक्रमणकारीको श्रीमतीबाट प्राप्त भएको हो,” प्रहरी अधिकारी सायाम बुनसोमले पत्रकारहरूलाई बताए । ओर तो कोर बजार बैंककको चाटुचाक बजार नजिकै पर्छ, जुन पर्यटकहरूबीच अत्यन्त लोकप्रिय गन्तव्य मानिन्छ ।
थाइल्याण्डमा बन्दुक नियन्त्रणका कानुनहरू कमजोर भएकाले यस्ता सामूहिक गोलीकाण्ड समय–समयमा हुँदै आएकाे अन्तर्राष्टीय सन्चार माध्यमहरू ले जनाएका छन् ।
