नेपाल एयरलाइन्सले आउँदो अगस्ट महिनाबाट साउदी अरबियाको दमाम–काठमाडौं नियमित रूपमा ३ उडान भर्ने भएको छ। नेपाल एयरलाइन्स साउदी कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीका अनुसार अगस्ट महिनाबाट सातामा तीन फ्लाइट नियमित रूपमा उडान हुनेछ ।
उनका अनुसार दमाम–काठमाडौं र काठमाडौं–दमाम यात्रुहरूलाई सहजीकरण र बढ्दो चापको मध्यनजर गर्दै आगामी अगस्ट महिनाबाट उक्त उडान भर्न लागेको बताए भने साउदीको रियाद सहरबाट पनि पुन उडान सञ्चालनको लागि सम्बन्धित निकायसँग छलफल भइरहेको बताए। यसअघि विभिन्न कारणले साउदीको रियाद–काठमाडौं उडान बन्द भएको थियो।
साथै नेपाल कार्गो लैजानका लागि कार्गो एग्रिमेन्ट नभएको कारण साउदी अरबमा मृत्यु भएका नेपालीहरूको शवहरू एयरलाइन्सबाट लान समस्या देखिएकाले यस सम्बन्धमा सम्बन्धित निकायसँग छलफल भइरहेको समेत बताइन्। साउदी अरबमा हाल सातामा २ न्यारो एयरलाइन्स उडान हुँदै आएको छ भने अबको दिनमा वाइडबडी उडानको आवश्यकता रहेको देखिन्छ। न्यारो उडानमा १५८ सिटको क्षमता रहे तापनि भौगोलिक दूरीका कारण १३० यात्रु मात्र समावेश गरी उडान भर्दै आएको छ।
हाल साउदीमा ४ लाखभन्दा बढी श्रमिकहरू कार्यरत छन्। यसलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले आगामी दिनमा वाइडबडीको उडान भर्नुपर्नेसमेत देखिएको जसमा २७५ जनाको सिट क्षमता रहेको छ।
