सिन्धुलीकाे दुधौली नगरपालिका वडा नं. २ मा रहेको मधुगंगा महादेव मन्दिर परिसरमा सोमबार दिउँसो गोली चलेको छ । भारतीय नागरिकहरुको ४, ५ जनाको समूहले आफ्नै साथी माथि गोली चलाएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेतिर गोली चलेको सुनिएको र एक जनालाई गोली लागेको खबर आएपछि प्रहरी घटनास्थलतर्फ प्रस्थान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय डकाहाको प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले बताएका छन । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको सुवेदीले जानकारी दिए ।
दुधौली नगरपालिका वडा नं. २ का अध्यक्ष रितेश राउतले भर्खरै प्रहरी सहितको टोली घटनास्थल पुगेको र विस्तृत विवरण लिने प्रयास भईरहेको जानकारी गराएका छन । उनले घटनास्थलमा चक्कु छुरा समेत फेला परेको बताए । गोली लागेका व्यक्तिको पहिचान खुलेको छैन । उनको मृत्यु भईसकेको स्थानीयले जनाएका छन् ।
