देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

आज राति देशभर साधरणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कोशीदेखि कर्णालीसम्म मेघगर्जनसहित वर्षा, सावधानी अपनाउन आग्रह

हाल कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू–भाग, गण्डकी प्रदेशको स्याङ्जा, बागलुङ र कास्की, साथै कर्णाली प्रदेशको जाजरकोट,सुर्खेत, डोल्पा र मुगु (सिमिकोट आसपास) का जिल्लामा मौसमी प्रणाली सक्रिय रहेको छ । सो क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल देखिएको मौसमी प्रणाली दक्षिण पश्चिम दिशातर्फ विस्तार हुँदैछ, जसका कारण ती क्षेत्र आसपासका जिल्लाहरूमा आगामी केही घण्टासम्म पनि मौसम अस्थिर रहने सम्भावना छ। सम्भावित जोखिमका कारण महाशाखाले ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

इलामको कनकाई र मैनाचुली क्षेत्रमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

 इलाम जिल्लाको कनकाई र मैनाचुली जल मापन केन्द्रमा शुक्रबार बिहान ५ः३० बजे लिइएको विवरणअनुसार नदीको जल सतह सतर्कता तहको आसपासमा पुगेको छ ।  जल तथा मौसम विज्ञान विभागले आज  बिहान एक सूचना जारी गर्दै जल सतह अझै बढ्दो क्रममा रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

विभागका अनुसार नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचो भूभागमा दिउँसोसम्म विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । हाल देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना रहेको विभागले जनाएको छ ।

सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

पछिल्ला तीन घण्टामा सुनसरीको तरहरा, मोरङको विराटनगर विमानस्थल, हरैचा र आसपासका क्षेत्रमा मध्यम वर्षा भएको र आगामी घण्टाहरूमा थप वर्षा जारी रहने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज बिहान १२:३५ बजे एक सूचना जारी गर्दै सेउती, सर्दु, सुनसरी खोला, खेसलिया, चिसाङ, लोहन्द्रा लगायत साना खोलानालाहरूमा आकस्मिक बहाव (फ्ल्यास फ्लड) बढ्न सक्ने सम्भावनाबारे चेतावनी दिएको छ।

साथै, होचा भू–भागहरूमा डुबानको जोखिम उच्च रहेको हुँदा नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीलाई बिहानसम्म विशेष सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

लमजुङको भुजुङ क्षेत्रमा आकस्मिक बहाव र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह

लमजुङ जिल्लाको भुजुङ वर्षा मापन केन्द्र तथा वरपरका क्षेत्रमा पछिल्लो एक घण्टामा हल्कादेखि मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले आज बिहान ३ः१७ बजे एक सूचना जारी गर्दै निरन्तर वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने सम्भावना देखिएको बताएको छ। साथै, भिरालो र कमजोर भू–भागमा पहिरोको जोखिम समेत बढेकाले स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम

कास्की जिल्लाको लुम्ले र आसपासका क्षेत्रमा शुक्रबार बिहान भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागले आइतबर बिहन ५ बजे एक सूचना जारी गर्दै पछिल्लो एक घण्टामा ती क्षेत्रमा तीव्र वर्षा मापन गरिएको साथै आगामी घण्टाहरूमा पनि थप वर्षाको सम्भावना रहेको जनाएको हो।

लगातारको वर्षाका कारण सो क्षेत्र भएर बहने साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम उच्च रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *