‘पत्रकारिता आचारसंहिता विपरित गतिविधि नगर्न आग्रह’

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रेस काउन्सिल नेपालले पत्रकारिता आचारसंहिताको निरन्तर अनुगमनका क्रममा केही सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पेशागत मर्यादा विपरितका गतिविधि बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार परिचयपत्र वा अनुमति बिना विभिन्न कार्यालय, शैक्षिक संस्था तथा कार्यक्रमस्थलमा प्रवेश गरी अभद्र व्यवहार गर्ने, अनावश्यक विवाद सिर्जना गर्ने र त्यस्ता गतिविधिलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यम मार्फत प्रसारण गर्ने प्रवृत्ति बढेको उल्लेख गरेको छ।

विज्ञप्तिअनुसार केही व्यक्तिले अनलाइन न्युज पोर्टल दर्ता गरे पनि समाचार सामग्री उत्पादन नगरी सञ्चारमाध्यमको नाम वा सामाजिक सञ्जालका प्लेटफर्ममार्फत युट्युब, फेसबुक पेज तथा रिल प्रयोग गरेर दर्शक बढाउने र आम्दानी (मोनिटाइजेसन) केन्द्रित सामग्री प्रसारण गरिरहेका छन्। यस्ता सामग्रीमा कहिलेकाहीँ भ्रामक, अतिरञ्जित तथा गालीगलौजपूर्ण प्रस्तुति समेत समावेश हुने गरेको काउन्सिलको भनाइ छ।

काउन्सिलले यस्ता गतिविधिले पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र स्थापित मर्यादामा नकारात्मक असर पुर्‍याएको जनाएको छ। सत्य, तथ्य, निष्पक्षता, सन्तुलन र जिम्मेवारीमा आधारित पत्रकारिताले मात्र पेशाको विश्वसनीयता र प्रतिष्ठा बढाउने उल्लेख गर्दै आचारसंहिता अनुरूप काम गर्न सबै सञ्चारमाध्यम, आमसञ्चारकर्मी, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।

प्रेस काउन्सिलले पत्रकारिता पेशाको संवेदनशीलतालाई ध्यानमा राखी सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिन तथा आचारसंहिता विपरीतका गतिविधिबाट टाढा रहन सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ।काउन्सिलले यस्ताे बिज्ञप्ती हालै महेन्द्रनगरमा घटेकाे घटनापछि निकालेकाे हाे  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *