न्युन वर्षामै अवरुद्ध बिपीमार्ग

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

१२ मिनेटको वर्षाले नै बिपी राजमार्ग १२ घण्टा रोकिन थालेको छ । नेपालकै नमुना र व्यवस्थित सडक परियोजना मानिएको बिपी राजमार्गको मङ्गलटार सडकखण्डमा लेदो बाढीको समस्याले दुःख दिन थालेको हो । हल्का वर्षा हुन थालेपछि माथिल्लो भेगबाट आउने लेदोले सडक अवरुद्ध पार्ने गरेको छ ।

यस वर्षको पहिलो झरीमै परेको पानीले रोसी गाउँपालिकाको पाँच स्थानमा एकै पटक सडक अवरुद्ध बनायो । धुलिखेल पातलेखेत, भकुन्डेबेँसी र मङ्गलटार क्षेत्रमा पनि सडक अवरुद्ध हुँदै आएको छ ।

“त्यस्तो बाढीमा फसेपछि निस्कन गाह्रो हुने रहेछ” नौ घण्टा गाडीमै परिवारसहित बस्नु पर्दाको तनाव भोगेका भक्तपुरका सुरेन्द्र बस्नेतले भने । उनले जस्तै बर्खायाममा हजारौँ यात्रुले यस राजमार्गमा त्यस्तै सास्ती भोग्नु परेको छ । असोजमा आएको बाढीले खण्डहर बनेको बिपी राजमार्गको यात्रा गर्न असुरिक्षत मात्रै छैन, कतिबेला के हुन्छ भन्ने त्रासमा सुरक्षा निकाय बस्ने गरेको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल भन्छन , “पानी पर्न थालेपछि सुत्न पाइँदैन । मानिस फसेको फोन आँउछ, सुरक्षा निकायलाई परिचालन गर्नुपर्ने हुन्छ ।” उनका अनुसार राजमार्ग निर्माणकै क्रममा भएको प्राविधिक त्रुटिका कारण बर्सेनि यस्ता घटना भइरहछ ।

वर्षामा मात्रै नभई हिउँदमा पनि बाढी आएर यात्रु अलपत्र पर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे र सिन्धुलीले सडक खुलाउन निकै ठुलो जनशक्ति परिचालन गर्नुपर्ने बाध्यता छ । नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि उद्धारका लागि तयारी अवस्थामा राखिने गरेकाे छ ।

बनेपा, धुलिखेल, पनौतीमा पानी परेपछि रोसी खोलामा आउने बाढीले राजमार्गलाई अवरोध पार्ने गरेको छ । राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स पनि रोकिने गरेका छन् । जसका कारण केही साताअघि मस्तिष्कघात भएका एक बिरामीले एम्बुलेन्समै ज्यान गुमाएका थिए । घण्टौँ जाम हुँदा सडकमै बच्चा जन्मने र बिरामीले सास्ती व्यहोरिरहेका छन् ।

सडकभन्दा माथिल्लो भागमा अन्धाधुन्ध डोजर प्रयोग गरेर सडक खन्दा माटो खुकुलो बनाएको र त्यसकै असरका रूपमा गेग्य्रान सहितको बाढी आएको रोसी गाउँपालिकाका पूर्वअध्यक्ष डिबी लामाले बताउछन । गत असोजको पानीपछि अवस्था झनै जटिल भएको र समस्याको दीर्घकालीन समाधान खोज्न ढिला भएको उनकाे भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *