चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन्।यस वर्षको वर्षामा चन्द्रागिरि १, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन्।

यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताउनुभयो।उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ।गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो।

“नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ”, अर्यालले भने वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिदै खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भूक्षय लगायतको समस्या देखिएको उनले बताए  ।

आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताइन । वडा नं ५ स्थित राधाकृष्ण टोलमा झण्डै १०० मिटर बाटोको भाग खोलामा खसेको छ।नजिकै कर्बड हल बनाउँदा माटो खोस्रिएका कारण त्यहाँ पहिरो गएको स्थानीयले बताएका छन्।

वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन।जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिदै वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेकाे बताए ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि रु तीन करोड बजेटमा व्यवस्था गरिएको जानकारी दिए ।दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इञ्जिनिरिङ गर्न खोजिएको उनले बताए ।

“जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *