बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १० घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालयले राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म आइतबार साँझ ६ः३० देखि बिहान ५ बजेसम्म एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाउने जनाएको हो।
कार्यालयद्वारा आज जारी सार्वजनिक सूचनामा मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटनाको जोखिम न्यूनीकरण गर्न उल्लेखित क्षेत्रमा एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाइएको छ। यसअघि यही असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको निर्णयले बिपी राजमार्गमा असार ७ गतेदेखि सोही समयमा करिब १० घण्टा १५ दिनका लागि सडक सञ्चालनमा रोक लगाएको थियो।
मनसुनजन्य विपद्बबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई यसअघि १५ दिनका लागि राति सञ्चालनमा रोक लगाइएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । उनका अनुसार वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो। आइतबारदेखि काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमा रोकिने छ।
गत वर्ष असोजको बाढीपहिरोले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको आठ किलोमिटर सडकखण्ड नै बगाएको थियो। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यस राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवत जावत गर्छन्।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रोखण्डअन्तर्गत सिन्धुलीको खुर्कोटबाट नेपालथोकसम्म ३४ किमी र चौथो खण्ड नेपालथोकबाट काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। क्षतिग्रस्त राजमार्ग निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढेको छ।
