सुनकोशी मरिन डाइभर्सन : ठेक्का समय आधा सकिँदा बाँध निर्माण ७ प्रतिशत मात्रै

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गत जेठ १८ मा जनकपुर पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनामा प्रगति नबढे ठेक्का तोड्ने चेतावनी दिए । मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ आयोजनाअन्तर्गतका सडकहरूको शिलान्यास गर्न जनकपुर पुगेका उनले निर्माणको काम छिटो सक्न आग्रह पनि गरे ।

‘सिँचाइको आसमा रहेका मधेशका जनताले अब लामो समय जमिन बाँझो राख्न सक्दैनन्,’ उनले कार्यक्रममा भनेका थिए, ‘भ्रष्टाचारभन्दा ठूलो अपराध ढिलासुस्ती हो, विकास निर्माणको काम रकेटको गतिमा हुनुपर्छ, ढिलासुस्तीले आयोजनाको लागत बढ्ने र लाभान्वित समूह प्रभावित हुन पुग्छन् ।’ सुनकोशी मरिन तराईकै जिल्लालाई मध्यनजर गर्दै निर्माण गरिएको छ, त्यसैले प्रधानमन्त्री ओलीले काम नसकिए ठेक्का तोड्ने भन्दै मधेशका जनतालाई ढाडस दिए, तर कामको गति भने अझै बढ्न सकेको छैन । प्रगति न्यून छ ।

आयोजनामा सुरुङको काम सकियो, तर बाँध निर्माणको गति भने सुस्त छ । सुरुङ छिचोलिएको पनि एक वर्ष भइसक्यो । फिनिसिङको कामसमेत सकिएकाले सुरुङ सञ्चालनको तयारीमा छ । तर, बाँध निर्माण भएर पानी नपठाउँदासम्म यो सञ्चालनमा आउने छैन । त्यसका लागि पहिला सुनकोशी गाउँपालिकाको कानढुंग्रीस्थित सुनकोशी नदीमा बाँध निर्माणको काम सकिनुपर्छ । १३.३ किलोमिटरको सुरुङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले लिएको हो । टनेल बोरिङ मेसिनमार्फत सुरुङ खनिएकाले काम छिटो भएको आयोजनाले जनायो ।

सुरुङ खन्न मात्र कोभेकले मूल्य अभिवृद्धि करबाहेक १० अर्ब ५ करोड ६८ लाख ३७ हजारमा ठेक्का लिएको हो । त्यसो त सुरुङको ‘ब्रेक थ्रु’ २२ महिनाभित्र गर्ने लक्ष्य थियो, निर्माण थालेको १९ महिना अर्थात् गत ०८१ वैशाख २६ मै गरियो । २०७७ फागुन २० मा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै उक्त आयोजनाको शिलान्यास गर्दै काम थालनी गरिएको थियो । सुरुङको ठेक्का सम्झौता सोही वर्षको चैत ६ मा गरिएको थियो । सुरुङ खन्ने काम भने २०७९ असोज २८ बाट थालिएको थियो ।

तर पूर्व तयारीका काम समयमै नसकिँदा सुरुवाती कामले गति लिन सकेन । सुरु सम्झौता अनुसार यसको काम ०८२ भदौसम्म सक्नु पर्ने हो । समग्र आयोजनाको काम नसकिएपछि कोरोना महामारीलगायत कारणले काम गर्न नपाएको समयावधि गणना गरेर २०८४ फागुनसम्म म्याद थप माग गरिएको छ । यता सुरुङ ‘ट्रिटमेन्ट’को काम पनि सकिएको आयोजनाले जनाएको छ ।

यता कोशी किनारमा बाँध निर्माण थालेको २९ महिना बित्दा प्रगति ७ प्रतिशत मात्र छ । बाँधको ठेक्का पटेल–रमण जेभीले ०७९ पुस १७ मा ५५ महिनाभित्र सक्ने गरी लिएका हुन् । संयुक्त ठेक्का भएपनि काम रमण कन्स्ट्रक्सनले गरिरहेको छ । त्यसैले अब ९३ प्रतिशत काम २६ महिना भित्र अर्थात् ०८४ भदौ भित्र सक्नु पर्ने छ । आयोजना छिटो सम्पन्न भए ३१.०७ मेगावाट विद्युत् उत्पादनसँगै तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । सिँचाइ आयोजना सञ्चालनमा आएपछि तराईका फाँट हरियाली बन्ने छन् । उत्पादन बढ्ने छ । बाँझा जमिन सिञ्चित हुने छन् । व्यावसायिक तरकारी खेती गर्ने किसान बढ्ने छन् । अहिले बर्खा सुरु हुँदा सुनकोशी किनारमा भने बाँध निर्माणको काम जारी छ । यो बेला कामको गति बढाइए पनि प्रगति बढ्दैन ।

बाध निर्माणको काम बर्खामा रफ्तार र हिउँदमा सुस्त हुने गरेको छ । बाढीले ढलान गरेको संरचना पुर्ने र भत्काउने भएकाले असारदेखि असोजसम्म काम रोकिने गरेको छ । कामको गति बढाएर तोकिएकै अवधिमा निर्माण सक्ने गरी समय तालिका बनाएर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पेस गर्न निर्माण कम्पनी पटेल–रमण जेभीलाई आयोजनाले निर्देशन दिएको छ । अहिलेसम्म निर्माण प्रगति ३० प्रतिशत भन्दा माथि हुनुपर्नेमा ७ प्रतिशत भन्दा उकालो नलागेको सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका प्रमुख बद्री कार्कीको दाबी छ । तर ठेक्का लिने कम्पनी रमण कन्स्ट्रक्सनका वित्त निर्देशक रमण महतोको दाबी १४ प्रतिशत पुगेको छ ।

किन काममा ढिलाइ भइरहेको छ भन्नेबारे निर्माणस्थलमै पुगेर हेर्ने तयारीमा रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए । ‘सुरुङको काम सकिसकेको छ, बाँध निर्माणको काममा प्रगति न्यून छ, ठेक्का लिने ठेकेदार पनि लोसे परेछन्, कामको गति बढेको छैन,’ उनले भने, ‘ठेकेदारको ढिलाइका कारण त्यसको प्रभाव मधेशका जिल्लाहरूमा परिरहेको छ ।’ छिटो आयोजना सम्पन्न गरेर सञ्चालनमा ल्याए मधेशका केही जिल्लाको कायापलट हुने निश्चित रहेको उनले सुनाए ।

यसले सिँचाइ सुविधा मात्र नभएर जमिनमुनिको पानी समेत रिचार्ज हुने उनको बुझाई छ । ‘प्राथमिकता दिएर छिटो आयोजनाको काम सक्नुपर्नेमा ढिलाइसुस्ती भइरहेको छ,’ उनले भने, ‘अब निर्माणमा ढिलाइ गर्ने छुट दिनु हुँदैन, यदि ठेक्का लिनेले काम गर्दैनन्, प्रगति बढाउँदैनन् भने ठेक्का तोडेर कारबाहीको दायरामा ल्याउनु पर्छ, नयाँ ठेक्का गरेर कामको गति बढाउनु पर्छ ।’ अहिले जमिनमुनि र आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । डीप बोरिङमार्फत बाली लगाउँदा उत्पादन लागत महँगो परिरहेको उनको भनाइ छ ।

‘त्यसैले यो आयोजना छिटो सम्पन्न भए अहिले भइरहेको उत्पादन दोब्बर हुने कुरामा कुनै शंकै छैन,’ उनले भने, ‘बाह्र महिना नै पानीको सुविधा उपलब्ध हुने भएकाले वर्षमा तीन बाली लगाउन समस्या पर्दैन, त्यसैले निर्माणमा ढिलाइ गर्नेलाई छुट दिनु भएन, यसमा संघ सरकारलाई गम्भीर रूपमा ध्यान दिन आग्रह गर्छु ।’ कोशी किनारमा कफर ड्यामलाई मजबुत र बाँधको ढोका निर्माणको काम भइरहेको छ । सुनकोसी नदीको सतह भन्दा १२ मिटर मुनीबाट ढोकाका लागि जग हाल्ने काम भइरहेको छ । नदीको सतहमा आएपछि १८ मिटर उचाइमा लगेर कोसीको पानी सुरुङमा पठाइने प्राविधिकहरूले जनाएका छन् ।

निर्माण प्रगति केही सुस्तै रहेको रमण कन्स्ट्रक्सनका वित्त निर्देशक रमण महतोले बताए । ‘नदी भित्रको काम हो, सुरुमा साइटमा परिचालन भएर काम गर्न पनि समस्या भयो,’ उनले भने, ‘करिब ६ महिना कोसी फर्काउनै लाग्यो, त्यसैले सुरुको एक वर्ष त काम नै भएन ।’ काम भइरहेका बेला गत असोजको बाढीले निर्माण गरेको संरचना पुरेको र सामग्री बगाएको उनको भनाइ छ ।

‘निर्माणस्थलसम्म सामान ल्याउन एकदमै कठिन छ, काम गरेको ठाउँमा बाढी पस्यो, अहिले त्यही ठाउँमा भौतिक संरचना निर्माणको काम भइरहेको छ, त्यसैले प्रगति कम भएको हो,’ उनले भने, ‘अब बाँकी रहेको समय भित्र सक्ने गरी काम भइरहेको छ ।’ अहिले बाढीले क्षति नगर्ने गरी नै अग्लो बाँध बाँधेर काम गरिरहेको उनको भनाइ छ । ‘सुरुङ बनिसकेको छ, बाँध र सुरुङको ठेक्का एकैचोटी भएको भए काम धेरै सकिन्थ्यो,’ उनले भने, ‘अबको ५–६ महिना भित्र प्रगति २५ प्रतिशत पुर्‍याउँछौँ, सुरु समय सकिने बेलासम्म केही छुटफुट काम बाँकी रहन सक्छ, त्यसकालागि केही समय मागेका छौँ ।’

बाँध निर्माणमा प्रगति न्यून रहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले पनि बताए । ‘यसमा प्रगति हुन सकेको छैन, निर्माण व्यवसायीलाई प्रगति बढाउन पटक–पटक चेतावनी दिइरहेका छौँ,’ उनले भने, ‘प्रगति नबढाए ठेक्का तोड्छौं भनिसकेका छौँ ।’ पेस्की रकम १ अर्ब २० करोड रुपैयाँ दिएकोमा ६० करोड रुपैयाँ फिर्ता गर्न निर्माण कम्पनीलाई पत्राचार गरिएको र तीन सिफ्टमा काम गर्न ताकेता गरिरहेको उनले बताए । ‘अब निर्माणमा उल्लेख्य प्रगति बढाउनु पर्छ, अरू विकल्प छैन, काम नगरे ठेक्का तोडिन्छ,’ उनले थपे, ‘यदि प्रगति बढाएर काम गरे विभागले रेड कार्पेट ओछ्याएर सहयोग गर्न तयार छ, हामीले चाहिएको काम हो ।’

पटेल–रमण जेभीले बाँध निर्माणका लागि १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा ठेक्का लिएको हो । सुनकोसी नदीमा करिब ३० मिटर अग्लो र १ सय ५८ मिटर लामो बाँध निर्माण भएपछि सुरुङमार्फत कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिन खोलामा पानी खसालिने छ । त्यहाँ ६६.२९ मिटर हेटेडबाट पानी झारेर ३१.०७ मेगावाट विद्युत् उत्पादन गरिने छ । आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा सिँचाई सुविधा पुर्‍याउने रहेको छ । समग्र आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत र ४९ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा हालसम्म १६ अर्ब खर्च भएको छ ।

साभारः कान्तीपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *