संघीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेको छ । मोर्चाका तर्फबाट राजेन्द्र महतोको हस्ताक्षरमा जारी विज्ञप्तिमा भ्रष्टाचारमा संग्लन अपराधीहरुउपर कडा कारबाही गर्नुपर्ने निर्णय पनि मोर्चाले गरेको उल्लेख छ ।
मोर्चाको शुक्रबारको बैठकले आदिवासी जनजातिका सवालमा काम गरिरहेका दल र संगठनहरुबीच सहकार्य गर्ने र त्यसका लागि संवाद सुरु गर्ने निर्णय पनि गरेको छ । मोर्चाले भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा मृत्यु भएकाप्रति गहिरो दु:खसमेत व्यक्त गरेको छ ।
बैठकमा जसपा नेपालबाट उपेन्द्र यादव, राजकिशोर यादव, रामकुमार शर्मा, लोसपा नेपालबाट महन्थ ठाकुर, ज्ञानेन्द्र झा, मुकेश झा, जनमतबाट अब्दुल खान सहभागी थिए । यस्तै राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा, अनिल महासेठ, चन्द्रनारायण चौधरी, नागरिक उन्मुक्तिबाट लालबिर चौधरी तथा जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी र डा.शिवजी यादव उपस्थित थिए । तमलोपाबाट वृषेशचन्द्र लाल सहभागी थिए ।
