विपद्‌का लागि दुई हजार पाँच सय सशस्त्र प्रहरी खटिँदै

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् व्यवस्थापनका लागि विशेष पूर्वतयारी गरेको छ। यसक्रममा करिब २ हजार ५ सय तालिमप्राप्त जनशक्तिलाई आवश्यक उद्धार सामग्रीसहित देशभर परिचालन गर्ने योजना सशस्त्र प्रहरीले गृहमन्त्री रमेश लेखकसमक्ष प्रस्तुत गरेको हो।

सशस्त्र प्रहरी बलको मुख्यालयमा आइतबार आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले मनसुनको पूर्वसन्ध्यामा सशस्त्र प्रहरीले गरेको तयारीको प्रशंसा गरे। उनले विपद्‌को समयमा तत्काल परिचालन हुन सक्ने गरी सबै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिए।

‘विपद्‌को समयमा छिटो सूचना प्रवाह र उद्धारकर्ता परिचालनका लागि सबै सुरक्षा निकाय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्न सके विपद्‌मा परेका नागरिकको उद्धार र राहतमा शीघ्रता ल्याउन सकिन्छ,’ गृहमन्त्री लेखकले भने। उनले पूर्वसूचनाका आधारमा जोखिमयुक्त ठाउँहरू पहिचान गरी उद्धारका लागि तयारी अवस्थामा रहनुपर्नेमा जोड दिए।

कार्यक्रममा सशस्त्र प्रहरी बलका निमित्त संगठन प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले विगतका अनुभवका आधारमा यस वर्षको मनसुन प्रतिकार्य योजना, २०८२ तयार भइसकेको जानकारी दिए। सोही योजनाअनुसार सशस्त्र प्रहरीका ८ वटा बाहिनी मुख्यालय, २ वटा तालिम शिक्षालय, १ वटा गण, ९ वटा वेश र २ वटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामग्रीसहित सुरक्षा फौज तैनाथ राखिएको उनले सुनाए।

एआईजी पौडेलका अनुसार, सशस्त्र प्रहरी बलका सम्पूर्ण जनशक्तिलाई तयारी अवस्थामा राख्दै २ हजार ४ सय ८१ जना विपद् व्यवस्थापन तालिम प्राप्त र १ सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टीकृत उद्धार सामग्रीसहित सातवटै प्रदेशमा परिचालन गरिएको छ।

उनले ‘कि-रेस्पोन्डर’ का रूपमा विपद् प्रतिकार्यमा परिचालन हुनका लागि हाल रहेका ९ वटा विपद् व्यवस्थापन वेशका अतिरिक्त आगामी मनसुनका लागि थप न्यूनतम ३५ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिए। कार्यक्रममा प्रदेशस्थित सशस्त्र प्रहरी बलका सबै बाहिनी मुख्यालयहरूले मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीबारे गृहमन्त्रीलाई जानकारी गराएका थिए।

कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गृह मन्त्रालयका सह-सचिवहरू रामचन्द्र तिवारी, डा. टोकराज पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सह-सचिव रोशनी श्रेष्ठ लगायत गृह मन्त्रालयका पदाधिकारी र सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *