अमेरिका लगायत पश्चिमा राष्ट्रले हटाए युक्रेनलाई रूसमाथि प्रहार गर्न लगाएको दुरीजन्य बन्देज

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्ध रोक्न नमानेर उल्टै युक्रेनमाथि भिषण आक्रमण गर्न थालेपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले आफूले दिएको हतियार प्रयोगमा युक्रेनलाई लगाएको दुरीसम्बन्धी सबै बन्देज हटाएका छन्। जर्मनी, बेलायत, फ्रान्स र अमेरिका लगायत युक्रेनलाई सहायता गरिरहेका पश्चिमा देशहरूले रूसबाट आफूलाई जोगाउनका लागि युक्रेनमाथि हतियार प्रयोगमा लगाएको दुरीजन्य बन्देज हटाएको जर्मन चान्सलर फ्रेडरिक मर्जले खुलासा गरेका छन्।

‘युक्रेनलाई आपूर्ति गरिएका हतियारहरूमा अब कुनै दुरीजन्य प्रतिबन्धहरू छैनन्। न त बेलायती, न त फ्रान्सेली, न त हाम्रो, न त अमेरिकी,’ रूसले युक्रेनमाथि सबभन्दा ठूलो ड्रोन आक्रमण गरेपछि मर्जले बताएको भनेर विभिन्न पश्चिमा मिडियाले लेखेका छन्। ‘यसको मतलब युक्रेनले अब आफ्नो रक्षा गर्न सक्छ। उदाहरणका लागि, रूसमा रहेका सैन्य संरचनामा आक्रमण गरेर। केही अपवादहरू बाहेक, हालसम्म युक्रेनले त्यसो गरेको थिएन। अब उसले त्यसो गर्न सक्छ,’ मर्जले प्रष्ट पारे।

रूसले सो निर्णयलाई खतरनाक भन्दै यसले कुनै पनि प्रकारको शान्ति सम्झौतामा बाधा पार्ने बतायो। ‘यदि यी निर्णयहरू वास्तवमै गरिएका छन् भने ती हाम्रो राजनीतिक समाधानको आकांक्षासँग पूर्ण रूपमा बाँझिन्छन्,’ रूसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने।

पूर्वअमेरिकी राष्ट्रपति बाइडेनको पालामा अमेरिकाले हतियार दिँदा सुरूमा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र प्रयोग नगर्ने सर्त राखेर दिने गर्थ्यो। त्यस्तो अनुमति दिए रूसले पश्चिमाहरूमाथि नै प्रहार गर्ने वा युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने डरका कारण बाइडेनले अनुमति दिएका थिएनन्।

त्यसपछि गत वर्ष मे महिनाको अन्त्यमा मात्रै अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई बाइडेनले अनुमति दिएका थिए। त्यस्तो अनुमति दिँदा पनि खार्किभ वरिपरि जम्मा भएर आक्रमण गरिरहेका र गर्न लागेका सेनामाथि मात्रै प्रयोग गर्ने सर्तमा दिएको थियो।

गत वर्षको अन्त्यमा उत्तर कोरियाका १० हजारभन्दा बढी सैनिक रूसका तर्फबाट लड्ने पक्का भएपछि बाइडेनले अन्ततः उनीहरू र रूसी सेनालाई निशाना बनाएर युक्रेनलाई रूसभित्र लामो दुरीका अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिएका थिए। त्यसो गर्दा पनि कति टाढा प्रहार गर्ने भन्ने सीमा हुन्थ्यो र अमेरिकाको अनुमति लिएर मात्रै युक्रेनले ती हतियार प्रयोग गर्थ्यो। अरू पश्चिमा राष्ट्रले पनि अमेरिकी सरकारले लिने नीति अनुसार नै अनुमति दिने गर्थे। अब भने युक्रनेलाई दुरीजन्य केही पनि बन्देज हुने छैन।

अहिलेसम्म अमेरिकाले करिब ३०० किलोमिटर (१९० माइल) टाढासम्म प्रहार गर्न मिल्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम (अट्याक एम्स) दिएको छ। त्यस्तै बेलायत र फ्रान्सले पनि २५०-३०० किलोमिटर टाढासम्म प्रहार गर्न मिल्ने स्टर्म सेडो र स्काल्प मिसाइल दिएका छन्।

युक्रेनले जर्मनीमा बनेको टोरस मिसाइल पनि लामो समयदेखि माग गरिरहेको छ। यसले ५०० किलोमिटरसम्म प्रहार गर्न सक्छ। अहिलेसम्म जर्मनीले युक्रेनलाई टोरस मिसाइल दिएको खुलेको छैन। तर मर्जले दुरीजन्य बन्देज हटाएको भनेकाले टोरस मिसाइल दिइसकेको अनुमान गरिएको छ। यो मिसाइल जर्मनीले दिएको हो भने युक्रेनका केही भागदेखि रूसको राजधानी मस्कोसम्म प्रहार गर्न सक्नेछ। दुरीसम्बन्धी बन्देज हटाएपछि पश्चिमा राष्ट्रले युक्रेनलाई अझ शक्तिशाली र लामो दुरीका हतियार पनि दिने अपेक्षा गरिएको छ। तर त्यसबारे भने मर्जले केही पनि खुलाएनन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी समकक्षी पुटिनसँग मे १९ मा फोनमा कुरा गरेपछि युद्ध रोकिने धेरैले अपेक्षा गरेका थिए। तर ट्रम्पले दुई घण्टा फोनमा कुरा गरे पनि पुटिनलाई युक्रेनसँगको युद्ध रोक्न मनाउन सकेनन् र रूसले युक्रेनमा तत्काल युद्धविराम घोषणा गर्नुपर्ने आफ्नो मागबाट ट्रम्प पछि हटे।

ट्रम्पले रूसमाथि थप प्रतिबन्ध लगाउने संकेत

त्यसपछि रूसले युक्रेनमाथि आक्रमण झन् तीव्र बनाएको छ। त्यसपछि युरोपियन युनियनले (इयु) रूसमाथि नयाँ प्रतिबन्धको प्याकेज घोषणा गरेको छ। दिक्क भएर ट्रम्पले पनि रूसमाथि नयाँ प्रतिबन्ध लगाउन छलफल थालेका छन्। रूस-युक्रेन युद्धविरामको मध्यस्थता अमेरिकाले गरिरहेको छ। ट्रम्पले सार्वजनिक रूपमा र निजी रूपमा युद्धविरामका लागि दुवै देशलाई दबाब दिँदै आएका छन्।

अमेरिकाको मध्यस्थतामा साउदी अरबमा अमेरिकी अधिकारीहरूले रूसी र युक्रेनी अधिकारीहरूसँग छुट्टाछुट्टै वार्ता गरेका थिए। तर ती वार्ताहरूबाट हल ननिस्किएपछि मध्यपूर्व हेर्ने ट्रम्पका विशेष दूत स्टिभ विटकफले पटक-पटक पुटिनसँग लामा छलफल गरेर युद्धविराम सहमतिका लागि प्रयत्न गरेका थिए। तर सफल हुन सकेन।

यसअघि अमेरिकाले युक्रेनमा ३० दिनको अस्थायी युद्धविराम गर्ने प्रस्ताव युक्रेनले सहजै स्वीकार गरे पनि पुटिनले सहमति दिएका थिएनन्।पुटिनले युक्रेनलाई नेटोमा आबद्ध गर्न नहुने, सेना सीमित गर्ने र अहिलेसम्म रूसले कब्जा गरेको युक्रेनी भूभाग मात्र नभएर आफ्नो नियन्त्रणमा नभएका भागहरूको पनि स्वामित्व हुनुपर्ने माग गरिरहेका थिए।

पुटिनले युद्ध रोक्ने इच्छा नदेखाएर उल्टै युक्रेनमाथि हमला तीव्र बनाएपछि अमेरिका लगायत पश्चिमा राष्ट्रले आफूले दिएको हतियार प्रयोगमा युक्रेनलाई लगाएको दुरीसम्बन्धी बन्देज हटाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *