नेपाल–भारत सीमा क्षेत्रकाे आकाशमा ‘ड्रोन’को झिलिमिली, दुवै देशका सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’!

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सोमबार साँझ करिब ७ः३० बजे नेपाल–भारत सीमाको कमला बीओपी क्षेत्रमा १५ देखि २० वटा ड्रोन आकाशमा एकसाथ उडिरहेको देखिएपछि हङ्गामा मच्चिएको छ । ती ड्रोनहरू नेपालतर्फ उत्तरबाट पूर्व भारतीय क्षेत्रमा प्रवेश गरेको थियो। करिब ४० मिनेट घुमेपछि ड्रोनहरू नेपालतिर फर्किएको भारतीय सुरक्षा अधिकारीहरूले बताएका छन् ।

एसएसबीले सम्पूर्ण क्षेत्रमा उच्च सतर्कता जारी गरेको छ र दरभंगा र दिल्ली वायुसेना मुख्यालय (अपरेसन) लाई यसको बारेमा जानकारी गराएको छ। एसएसबी ४८ औँ बटालियनका डेपुटी कमान्डेन्ट विवेक ओझाले सोमबार राति आकाशमा १५–२० वटा चम्किला अज्ञात वस्तुहरू उडिरहेको देखेको बताए।

ती चम्किला अज्ञात वस्तुहरू  नेपालबाट आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । भारतीय क्षेत्रमा परिक्रमा गरेर फर्किएको अनुसन्धानबाट खुलेको छ । यस विषयमा नेपाली सुरक्षा अधिकारीहरूले आफ्ना कुनै पनि अभ्यास अस्वीकार गरेको उनले बताए।

उनले भने, ‘नेपाल सुरक्षा बलसँग पनि यो उडान उपकरणको बारेमा जानकारी लिइसकिएको छ। तर नेपालका अधिकारीहरूले कुनै पनि प्रकारको उपकरण प्रयोग अस्वीकार गरेका छन्।’

यस घटनाको बारेमा दिल्ली वायुसेना र दरभंगा वायुसेनालाई जानकारी दिइएको उनले बताए। नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ। भारतीय सैनिकहरूले यस घटनालाई नजिकबाट नियालिरहेका छन्। यता नेपालका अधिकारीहरूले सीमाको आकाशमा झिलिमिली देखिएको स्वीकारेका छन्।

‘यताको सीमा क्षेत्रको आकाशमा  झिलिमिली देखिएको थियो,’ सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआइजी कृष्ण ढकालले भने, ‘भारतीय सीमा सुरक्षा अधिकारीले पनि भनेका छन् । यसबारे हामी बुझ्दै छौँ।’

सशस्त्र प्रहरी बल मुख्यालयका प्रवक्ता डिआइजी कालिदास धौबजीले पनि त्यसबारे बुझ्न निर्देशन दिएको बताए। उनले भने, ‘मधेस प्रदेशका डिआइजी साब र सिरहाका एसपी साबलाई प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर त्यसबारे बुझ्न भनेका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *