नख्खुको बाढीमा बाबुछोरी बचाउने चणिकलाललाई गणतन्त्र दिवसमा डेढ लाख पुरस्कार

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गत वर्षको असोजमा भएको भारी वर्षाले काठमाडौं उपत्यका नराम्ररी प्रभावित बनेको थियो। सोही क्रममा असोज १२ गते ललितपुरको नख्खु खोलामा आएको बाढीले धेरैको ध्यान खिचेको थियो। नख्खु खोला छेउको बस्तीमा पस्दा एक टिनको टहरामा बस्ने परिवार घण्टौँसम्म टहरोको छतमा बसेर उद्धारको याचना गरिरहेका थिए। तर समयमै उद्धार हुन नसक्दा टहरो भत्किएर त्यहाँ रहेका चारै जना बगेका थिए।

बगेका एक जना आफै पौडिएर जोगिएका थिए भने दुई जनाको ज्यान काभ्रेको तेमाल गाउँपालिका–९ का चणिकलाल तामाङले बर्खे भेलमा पसेर जोगाएका थिए। एक बालिका भने बेपत्ता भइन। तामाङले साहसको प्रदर्शन गर्दै जोगाएकामा रौतहट घर भई त्यहाँ बसोबास गरिरहेका राजु साह र उनकी छोरी ६ वर्षीय मेघना थिइन्।

यसरी साहस गरेर ज्यान जोगाउने कर्म गरेका चणिकलाललाई बागमती प्रदेश सरकारले एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ। जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदेश सरकारले चणिकलाललाई पुरस्कार दिन लागेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मुख्यमन्त्री बहादुर सिंह लामाको संयोजकत्वमा रहने प्रदेशस्तरीय गणतन्त्र दिवस २०८२ मूल समारोह समितिले चणिकलाललाई उक्त पुरस्कारसहितको सम्मान गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *